आज विश्व टेलिभिजन दिवस
काठमाडौँ, ५ मङ्सिर – आज विश्वभर विश्व टेलिभिजन दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष नोभेम्बर २१ मा यो दिवस मनाइने गरिन्छ। निर्णय प्रक्रिया, जनमत निर्माण, शान्ति–सुरक्षा तथा विकाससम्बन्धी विषयमा टेलिभिजनले पुर्याउने प्रभावलाई सम्मान गर्दै राष्ट्रसङ्घ महासभाले सन् १९९६ डिसेम्बर १७ मा प्रस्ताव पारित गरी यो दिवस मनाउने घोषणा गरेको हो।
टेलिभिजन सूचना आदान–प्रदान, संवेदनशील विषयमा ध्यानाकर्षण, र सार्वजनिक धारणा निर्माणमा प्रभावशाली माध्यम मानिन्छ। यही प्रभावका आधारमा सन् १९९६ नोभेम्बर २१ र २२ मा संयुक्त राष्ट्रसङ्घले पहिलो विश्व टेलिभिजन फोरम आयोजना गरी विश्वभरका सञ्चारकर्मीलाई एक ठाउँमा ल्याएर बदलिँदो विश्वमा टेलिभिजनको भूमिका र अन्तरराष्ट्रिय सहकार्यबारे विस्तृत छलफल गरेको थियो। त्यसयता हरेक वर्ष नोभेम्बर २१ लाई विश्व टेलिभिजन दिवसका रूपमा मनाइने परम्परा कायम छ।

