नारायणघाट–बुटवल खण्डमा दुई दिन राति सडक बन्द
नवलपरासी, ४ मङ्सिर – पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको नवलपुर–चितवन जोड्ने नारायणी नदी पुल क्षेत्रमा दुई दिन राति सवारी सञ्चालन रोक्ने निर्णय गरिएको छ। पुलको पश्चिमतर्फ पर्ने एप्रोच रोडमा कालोपत्र गर्नुपर्ने भएकाले मङ्सिर ५ र ६ गते राति ११ बजेदेखि बिहान ४ बजेसम्म सडक पूर्ण रूपमा बन्द रहनेछ।
नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर ईश्वरबहादुर रिजालका अनुसार निर्माण कार्य सुरक्षित रूपमा सम्पन्न गर्न रातिको समय छानिएको हो। “काम गर्न सवारी रोक्नै पर्ने भएकाले तोकिएको समयमा सडक बन्द गर्न लागिएको हो,” उहाँले बताउनुभयो।
सडक बन्द हुने समयसम्म पूर्वतर्फ जाने सवारी नवलपुरका विभिन्न स्थानमा तथा पश्चिमतर्फबाट आउने सवारी चितवनका स्थान–स्थानमा रोकिएको अवस्थामा रहनेछन्। चालकहरूलाई तोकिएका स्थानमा रोकेर पालो कुरेर जान वा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।
रोकिने स्थानहरू
-
पूर्वतर्फ जाने सवारी
-
बस, मिनीबस, माइक्रोबस, साना गाडी: थुम्सीदेखि पश्चिमतर्फ
-
ट्रक, ट्रेलर, कन्टेनर, लहरी: बेल्डिहादेखि पश्चिमतर्फ
-
-
पश्चिमतर्फ जाने सवारी
-
बस, मिनीबस, माइक्रोबस, साना गाडी: रामनगर–जुगेडी तथा केन्द्रीय बसपार्क–गोन्द्राङ
-
मालवाहक ट्रक तथा ठूला सवारी: जुगेडी–दासढुङ्गा र गोन्द्राङ–टिकौली
-
सडक विस्तार सुरु भएयता खण्ड–खण्डमा खाल्डाखुल्डीका कारण यात्रा चुनौतीपूर्ण बनेको छ। अब नारायणी पुलको पश्चिमतर्फ १७० मिटर कालोपत्र भएपछि दाउन्नेसम्म करिब ६० किलोमिटर सडक निरन्तर कालोपत्रले जोडिने योजना छ।

