लहानमा ‘स्मार्ट सार्वजनिक शौचालय’ निर्माण सुरु

सिरहा, ४ मङ्सिर – लहान नगरपालिकाले मुख्य बजार क्षेत्र हुलाकचोकमा अत्याधुनिक ‘स्मार्ट शौचालय’ निर्माण कार्य सुरु गरेको छ। बुधबार नगरप्रमुख महेशप्रसाद चौधरीद्वारा शिलान्यास गरिएको यो परियोजना लहानलाई स्वच्छ, सुरक्षित र पर्यटकीय रूपमा आकर्षक बनाउने योजनाअन्तर्गत महत्वपूर्ण कदम मानिएको छ।

करिब ५० लाख रुपैयाँ लागतमा बन्ने यो शौचालय यसै आर्थिक वर्षभित्र सम्पन्न गरिने लक्ष्य राखिएको छ। लहानमा बढ्दो जनघनत्व तथा पूर्व–पश्चिम महेन्द्र राजमार्गमार्फत दैनिक यात्रु आवागमन बढेसँगै वर्षौंदेखि पर्याप्त तथा आधुनिक सार्वजनिक शौचालयको आवश्यकता महसूस हुँदै आएको थियो।

शिलान्यासका क्रममा नगरप्रमुख चौधरीले सर्वसुलभ, सुरक्षित र सुविधायुक्त संरचना निर्माण गर्न लागिएको उल्लेख गर्दै भने, “लहानको आवश्यकता हेर्दा यो स्मार्ट शौचालय नमूना संरचना बन्नेछ।”निर्माणाधीन स्मार्ट शौचालयमा महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका लागि सहज पहुँच हुने व्यवस्था रहनेछ। साथै, चमेनागृह, स्तनपान कक्ष र सेनेटरी प्याड भण्डारणजस्ता सुविधा पनि समावेश गरिने जनाइएको छ।

संरचनाको माथिल्लो तलामा कफी सप, र भुइँतलामा आधुनिक सवारी धुने केन्द्र निर्माण गरिनेछ। त्यस्तै, विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ पनि रहनेछ, जसले बढ्दो ई–सवारी प्रयोगलाई सहयोग गर्नेछ। +लहानका दलित तथा मुसहर समुदाय बहुल क्षेत्रमा सरसफाइ दीर्घकालीन चुनौतीका रूपमा रहेको छ।

दलित जनकल्याण युवा क्लबले नगरका विभिन्न स्थानमा करिब १५ वटा सामुदायिक शौचालय निर्माण गरे पनि कमजोर व्यवस्थापनका कारण कतिपय प्रयोगविहीन हुने अवस्थामा पुगेका छन्। क्लबका कार्यकारी निर्देशक विनोद विसुङ्केले “सुविधा बनाइए पनि प्रभावकारी व्यवस्थापन नहुँदा उपयोगिता घटेको” बताउनुभयो।

नगरपालिकाले अब ती सामुदायिक शौचालयहरूलाई पनि स्तरोन्नति गर्दै भौतिक संरचना तथा सेवासुविधा सुधार गर्ने तयारी गरेको छ। सार्वजनिक–निजी साझेदारी (PPP) मोडेलमार्फत सामुदायिक, निजी तथा संस्थागत सहकार्यमा सरसफाइ सेवाको विस्तार गरिने नगरप्रमुख चौधरीले जानकारी दिनुभयो।

लहानमा सुरु भएको आधुनिक सार्वजनिक शौचालय परियोजनाले सहरको स्वच्छता स्तर उकास्ने, सुरक्षित वातावरण निर्माण गर्ने तथा पर्यटकमैत्री सहर बनाउने लक्ष्य राखिएको छ। विश्व शौचालय दिवसको अवसरमा नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान–२०८२’ पनि औपचारिक रूपमा सुरु गरेको छ।

Facebook Comments Box