काष्ठकलामा सिपालु भीमबहादुर
बागलुङ, १ मंसिर – बागलुङ नगरपालिका–३ खहरेका भीमबहादुर विश्वकर्मा पछिल्ला तीन वर्षदेखि कालिका मन्दिर क्षेत्रलाई कलात्मक रूप दिने काममै व्यस्त छन्। मन्दिर पुनःनिर्माण, स–साना मठमा ताम्रापत्रले छाना छाउने तथा विभिन्न काष्ठकलाका संरचना तयार गर्नु उहाँको दैनिकी बनेको छ।
तीन वर्षको अवधिमा उहाँले कालिका मन्दिर परिसरका सत्तल, सचिवालयसहितका सानासाना संरचना, मन्दिरका झ्याल, ढोका, टुँडाल, तोरण आदिमा काष्ठकलाका सुन्दरतापूर्ण बुट्टा भर्नुभएको छ। विश्वकर्माले भन्नुभयो, “तीन वर्षअघि हवन कुण्डलाई कलात्मक बनाउन आएको थिएँ। त्यसयता गणेश मन्दिर, सत्तल, सचिवालयका झ्याल–ढोकालाई कलात्मक बनाएँ। अघिल्लो वर्ष अकलादेवी मन्दिर पुनःनिर्माण सकाएँ, अहिले चण्डीदेवी मन्दिरका काठ सामग्री तयार गर्दैछु।”
नेपाली सभ्यता र संस्कृतिको सुगन्ध बोकेको काष्ठकलामा पोख्त विश्वकर्मा पछिल्लो पुस्तामा घट्दो आकर्षणका बीच दुर्लभ सीपका धनी मानिनुहुन्छ। खर्चिलो र समय लाग्ने भएकै कारण टुँडाल, झ्याल र ढोकामा काठको प्रयोग कम हुँदै गएको उहाँको अनुभव छ।
६३ वर्षीय विश्वकर्माको जीवन नै काष्ठकलामै बितेको छ। सात पुस्तादेखि यसैलाई मुख्य पेसा बनाइँदै आएको उहाँ बताउनुहुन्छ। बाल्यकालमै बुबा मोतिलालले विभिन्न मन्दिरका टुँडाल र देवताको आकृति बनाउँदै गरेको हेरेर १५ वर्षको उमेरदेखि उहाँ काष्ठकलातर्फ आकर्षित हुनुभएको हो।
तामाले छाना छाउने सिप पनि उहाँसँग छ। घरेलु औजार प्रयोग गरी महिनौँ मेहनत गरेर काठलाई विभिन्न आकृतिमा ढाल्ने उहाँको सीप आज पनि उस्तै बलियो छ। उहाँले सम्झनुभयो, “बुवासँग २०४८ सालमा कालिका मन्दिरको गजुर मिलाएको थिएँ। बुवाले बनाएका आँखीझ्याल र टुँडाल अहिले पनि त्यही मन्दिरमा छन्। बुवा बितेको २३ वर्ष भइसक्यो।”
विश्वकर्माका पुर्खाले बागलुङ, गुल्मी, पर्वत, म्याग्दी आदि क्षेत्रमा दरबार तथा मठ–मन्दिरमा काष्ठकलाका महत्वपूर्ण काम गरेका थिए। आजभोलि यस क्षेत्रमा आधुनिक तथा विद्युतीय उपकरणको प्रयोग बढे पनि घरेलु औजारले कुँदिएको काष्ठकलाको छुट्टै पहिचान र महत्व रहेको उहाँ बताउनुहुन्छ।

