एनपिएलको दोस्रो संस्करण आजदेखि : कृत्रिम प्रकाश सहित सुरु हुँदै

काठमाडौँ, मंसिर १ गते – विश्वभर लोकप्रिय हुँदै गएको फ्रेन्चाइज क्रिकेट लिगमध्ये नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणमै उच्च मूल्यांकन पाउन सफल थियो। भारतको आइपिएलदेखि अस्ट्रेलियाको बिग ब्यास, वेस्ट इन्डिजको सिपिएल, बङ्गलादेशको बिपिएल, पाकिस्तानको पिएसएल र श्रीलङ्काको एसपिलजस्ता चर्चित लिगहरूसँग तुलना हुने गरी एनपिएल सर्वाधिक भ्यालुएबल फ्रेन्चाइज लिगको विश्वका शीर्ष पाँचमा परेको थियो।

सोही एनपिएलको दोस्रो संस्करण सोमबारदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। पहिलो संस्करण सफल भएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) अझ उत्कृष्ट संस्करण प्रस्तुत गर्ने लक्ष्यसहित तयार छ। क्यानका सचिव तथा प्रतियोगिता संयोजक पारस खड्काले करिब एक महिना चल्ने एनपिएललाई सफल बनाउन सबै पक्षको सहयोग महत्वपूर्ण रहेको बताए। दोस्रो एनपिएल सिङ्गल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर हुँदै मंसिर २७ गते फाइनल खेलिनेछ। यसपटक ३२ खेल आयोजना हुने छ।

गत वर्षकै आठ टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन्—

  • जनकपुर बोल्ट्स (च्याम्पियन)

  • सुदूरपश्चिम रोयल्स (उपविजेता)

  • काठमाडौं गोर्खाज

  • चितवन राइनोज

  • विराटनगर किङ्स

  • लुम्बिनी लायन्स

  • पोखरा एभेन्जर्स

  • कर्णाली याक्स

सबै टिमले टिम अक्सनमार्फत घरेलु र विदेशी खेलाडी तथा प्रशिक्षक समावेश गरी बलियो स्क्वाड तयार पारेका छन्।

फाफ डुप्लेसिसदेखि जेसन रोयसम्म : ४० भन्दा बढी विदेशी

हरेक टिममा अधिकतम ६ विदेशी खेलाडी राख्न पाउने नियमअनुसार यसपटक ४० भन्दा बढी विदेशी क्रिकेटर आबद्ध भएका छन्।

सुपरस्टारहरू जसले एनपिएलको ग्ल्यामर बढाएका छन्—

  • फाफ डुप्लेसिस

  • जेसन रोय

  • वेन पार्नेल

  • क्रिस लिन

  • इमरान ताहिर

प्रशिक्षकमा पनि अन्तर्राष्ट्रिय स्तरका नाम अनुकरणीय छन्। आठ टिममध्ये पाँच टिमले विदेशी प्रशिक्षक ल्याएका छन्।

  • गत वर्ष जनकपुरलाई च्याम्पियन बनाएका पुबुदु दसनायके अब विराटनगर किङ्सका मुख्य प्रशिक्षक।

  • जनकपुरले वेस्ट इन्डिजका महान् ब्याट्सम्यान शिवनारायण चन्दरपललाई मुख्य प्रशिक्षक बनाएको छ।

  • काठमाडौंले नेपालका पूर्वमुख्य प्रशिक्षक मोन्टी देसाईमाथि भरोसा राखेको छ।

  • पोखराले भारतका राजीव कुमार,

  • लुम्बिनीले टिनु योहान्नालाई जिम्मेवारी दिएको छ।

पारस खड्काका अनुसार यी खेलाडी र प्रशिक्षकहरूको उपस्थितिले नेपालका खेलाडीले अन्तर्राष्ट्रियस्तरको वातावरणमा सिक्ने र अनुभव आदान–प्रदान गर्ने अवसर पाउनेछन्।

नेपाली खेलाडीको पारिश्रमिक : मार्की खेलाडीलाई २० लाख

विदेशी सम्झौता सार्वजनिक नगरिए पनि नेपाली खेलाडीहरूको कमाइ उल्लेखनीय छ।

  • हरेक टिमका मार्की खेलाडीले २० लाख रुपैयाँ प्राप्त गरेका छन्।

  • अन्य घरेलु खेलाडीले १५ लाखदेखि २ लाखसम्म पारिश्रमिक पाएका छन्।

  • प्रतिभा खोजबाट छानिएका ‘आइकोनिक खेलाडी’लाई पनि आकर्षक रकम प्रदान गरिएको छ।

क्यानका अनुसार प्रचारप्रसार र टिम निर्माणमा पनि फ्रेन्चाइजहरूले ठूलो रकम खर्च गरेका छन्।

२ अर्ब रुपियाँ ब्रान्ड भ्यालु लक्ष्य

पहिलो संस्करणमा एनपिएलमा १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।
यस वर्ष क्यानले एनपिएलको ब्रान्ड भ्यालु २ अर्ब रुपैयाँभन्दा माथि पुर्‍याउने लक्ष्य राखेको छ।

एनपिएल नेपालकै सबैभन्दा ठूलो बजेटको क्रिकेट प्रतियोगिता मानिन्छ।

नेपालमा पहिलोपटक कृत्रिम प्रकाशमा क्रिकेट

दोस्रो एनपिएलको प्रमुख आकर्षण भनेकै नेपालमा पहिलोपटक फ्लड–लाइटमा क्रिकेट खेलिनु हो।

  • ९ खेल दिउँसो,

  • २३ खेल रात्री समयमा हुनेछन्।

सरकारको सहयोगमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लड–लाइट जडानपछि मैदानको स्तर अभूतपूर्व रूपमा उकासिएको छ। दर्शकका लागि रंगीन सिटसहितको पुनर्निर्माणले पनि मैदानको आकर्षण बढाएको छ।

प्रत्येक खेलमा ९,५০০ टिकट बिक्री गरिनेछ।
त्रिवि रङ्गशालाको क्षमता १३,000 रहेको छ।

स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण

पहिलो संस्करणझैँ यसपटक पनि एनपिएल स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ, जसले प्रतियोगिताको अन्तर्राष्ट्रिय पहुँच थप बढाउनेछ। जनकपुर बनाम काठमाडौं दोस्रो संस्करणको उद्घाटन खेल सोमबार साँझ ४ बजे हुनेछ।

जनकपुर बोल्ट्स बनाम काठमाडौं गोर्खाजगत संस्करणमा जनकपुरले काठमाडौंलाई ५ विकेटले हराएको थियो। जनकपुर टिम उपाधि रक्षा अभियान सफल बनाउने लक्ष्यमा छ भने काठमाडौं बदला लिन मैदान उत्रिनेछ।

Facebook Comments Box