निर्वाचन आउन ५१ दिन बाँकी, बन्दसूचीमा रहेका ८५ उम्मेदवारले नाम फिर्ता लिए
काठमाडौँ, २९ पुस – प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा समावेश भएका विभिन्न राजनीतिक दलका ८५ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन्। निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म नाम फिर्ता लिन समय तोकेको थियो। प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ।
आयोगले उम्मेदवार स्वयं उपस्थित भएर वा उपस्थित हुन नसक्ने अवस्थामा वारेसमार्फत नाम फिर्ता लिन सकिने व्यवस्था गरेको थियो। आयोगका अनुसार जनमत पार्टी, नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका उम्मेदवारहरूले बन्दसूचीबाट नाम फिर्ता लिएका हुन्। जसमध्ये जनता समाजवादी पार्टीका २१ जना र जनमत पार्टीका २० जनाले नाम फिर्ता लिएका छन्।
हालै जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच एकता भएपछि बन्दसूची मिलाउन केही उम्मेदवारको नाम फिर्ता लिइएको सम्बन्धित दलले जनाएको छ। आयोगका अनुसार अन्तिम बन्दसूची सार्वजनिक हुँदा नाम फिर्ता लिने सङ्ख्या केही थप हुन सक्नेछ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ कूल ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका थिए। आयोगले पुस १३ र १४ गते बन्दसूची पेस गर्न समय दिएको थियो। कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट ११० र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ।

