शीतलहर सुरु हुनुअघि नै पूर्वतयारीमा महोत्तरी
महोत्तरी, २९ कात्तिक – हरेक वर्ष जाडोयाममा शीतलहरका कारण हुने जनधनको क्षति रोक्न महोत्तरीमा यसपालि समयमै तयारी थालिएको छ। सामान्यतया पुसदेखि सुरु हुने शीतलहर कतिपय वर्ष मंसिरमै तीव्र हुने गरेको अनुभवका आधारमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले अग्रिम तयारी बढाएको हो।
समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले “शीतलहर पछि व्यवस्थापन गर्नुभन्दा पहिल्यै तयारी गर्नु प्रभावकारी हुन्छ,” भन्दै अहिलेबाटै पूर्वसचेतना र तयारीका काम सुरु गरिएको बताए। समितिले सबै स्थानीय तह, सामाजिक संघ–संस्था र सरकारी कार्यालयका प्रमुख सहभागी रहने बृहत् बैठक सम्पन्न गरी पूर्वतयारीका कार्यक्रम अघि बढाउने निर्णय गरेको छ।
यसअघि शीतलहर प्रभावितलाई राहत र उद्धारमा सक्रिय संस्थाहरूसँग तत्काल समन्वय गरी ‘शीतलहर व्यवस्थापन योजना’ तयार गर्ने निर्णयसमेत समितिले गरेको छ। तयार हुने योजनालाई स्वीकृत गरी कार्यान्वयनमा लैजाने समितिको तयारी छ।
जिल्लाका गैरसरकारी संस्थालाई पनि स्थानीय तहसँग सहकार्य गर्दै शीतलहर प्रतिकार्य योजना निर्माण र कार्यान्वयनमा जोड दिन समितिले आग्रह गरेको छ। बिहीबार सम्पन्न बैठकका सबै निष्कर्ष सम्बन्धित तह–स्तरसँग समन्वय गर्दै अघि बढाइने प्रमुख जिल्ला अधिकारी यादवले बताए।
मधेसमा शीतलहरका कारण हरेक वर्ष मानव स्वास्थ्य, जनधन र कृषिबालीमा ठुलो क्षति हुने भएकाले दाउरा तथा आवश्यक सामाग्रीको व्यवस्थापन अहिलेबाटै गर्न सम्बद्ध पक्षलाई सचेत गरिएको छ। यस्तै, समितिले गत असोज तेस्रो साताको बाढी–डुबानले क्षति पुर्याएका संरचनाको पुनर्निर्माणलाई पनि सम्बन्धित निकायले प्राथमिकताका साथ छिटो सक्नुपर्ने निर्णय गरेको छ।

