समस्याग्रस्त सडकमा काम सम्पन्न गर्ने चुनौती
तनहुँ, २९ कात्तिक – तनहुँका तीन ठूला सडक आयोजनाहरू निर्माण सुरु भएको धेरै समय बितिसक्दा पनि अहिलेसम्म पूरा हुन नसक्दा ती सबैलाई ‘समस्याग्रस्त आयोजना’को सूचीमा राखिएको छ। गण्डकी प्रदेश सरकारको बजेटमा सुरु गरिएका यी सडक निर्माण कार्य ढिलाइ हुँदा चुनौती थपिएको छ।
भौतिक पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रवीन्द्र तिवारीका अनुसार आँबुखैरेनी–छिम्केश्वरी सडक, दुलेगौडा–हर्कपुर सडक र भानुमार्ग–चन्द्रावती–पिलिमार्ग–कुन्छा–कालिमाटी सडकलाई समस्याग्रस्त आयोजनाका रूपमा वर्गीकृत गरिएको हो। “लामो समयदेखि काम जारी रहे पनि समयमै सम्पन्न नभएकाले निरन्तर ध्यानाकर्षण गराउँदै आएका छौँ,” तिवारीले भन्नुभयो।
आँबुखैरेनी–छिम्केश्वरी सडक
यो सडक (पहिलो खण्ड) कालोपत्रका लागि २०७६ मंसिर ६ गते ठेक्का सम्झौता भएको थियो। म्याद २०७८ फागुन १३ सम्म भए तापनि बारम्बार म्याद थपिँदै २०८२ असोजसम्म पुगेको कार्यालयले जनाएको छ।
-
भौतिक प्रगति: ९१%
-
वित्तीय प्रगति: ८९%
-
कुल लागत: रु ३६ करोड ५ लाख ५० हजार ५१५
-
भुक्तानी: रु ३१ करोड ९२ लाख ९७ हजार ४४२
-
ठेकेदार: एमएस शर्मा–काष्ठमण्डप JV
-
गत आर्थिक वर्षको बजेट: रु ३ करोड ५० लाख
भानुमार्ग–चन्द्रावती–पिलिमार्ग–कुन्छा–कालिमाटी सडक
२०७६ कात्तिक ४ मा सम्झौता भएको यो आयोजना २०७८ माघ १५ सम्म सकिनुपर्ने थियो। तर म्याद पटक–पटक थपिँदै २०८२ चैतसम्म पुगेको छ।
-
लम्बाइ: १०.१२ किमी
-
भौतिक प्रगति: ५०%
-
वित्तीय प्रगति: ५०%
-
कुल लागत: रु २३ करोड २ लाख ८० हजार ६६१
-
भुक्तानी: रु १० करोड ११ लाख १ हजार ७५०
-
ठेकेदार: एमएस शङ्करमालि निर्माण सेवा
-
गत वर्षको बजेट: रु ३ करोड ५० लाख
दुलेगौडा–हर्कपुर सडक
२०७६ कात्तिक ४ मा सम्झौता भएको यो सडक पनि २०७८ माघ १५ सम्म सकिनुपर्ने थियो। तर काम सुस्त हुँदा म्याद फेरि–फेरि बढेर हाल २०८२ चैतसम्म पुगेको छ।
-
लम्बाइ: १०.१८ किमी (स्तरोन्नति खण्ड)
-
भौतिक प्रगति: ५०%
-
वित्तीय प्रगति: ५०%
-
कुल लागत: रु २५ करोड ९९ लाख २ हजार ८९५
-
भुक्तानी: रु १३ करोड ४ लाख ११ हजार ७५३
-
गत वर्षको बजेट: रु २ करोड
-
यो खण्ड शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग २३ किमी दूरी जोडिन्छ।

