कँडेलको रहर : ५० लाख लगानीसहित वनकुखुरा (कालिज) पालनमा व्यावसायिक सफलता

बागलुङ, २८ कात्तिक – घर नजिकैको जङ्गल छेउमा फलामे तारले घेरेर बनाइएको कालिज फार्म। भित्र रातो, हरियो, नीलो र छिर्केमिर्के कालिजहरू दौडने, उफ्रने र उड्ने दृश्य हेर्नकै लागि धेरै मान्छे त्यहाँ पुग्छन्। ढोरपाटन नगरपालिका–२ सलामकोटका चुडामणि कँडेलले सुरु गरेको यो कालिज व्यवसाय सात वर्षमा निकै फस्टाएको छ।

२०७५ सालमा काभ्रेबाट तीन पोथी र एक भाले गरी चारवटा कालिज रु २४ हजारमा ल्याएर रहरकै कामको रूपमा सुरु गरिएको पालन अहिले व्यावसायिक रूपमै स्थापनामा पुगेको छ। ‘सानो स्वर्ग’ नामक फार्म दर्ता गरेर सुरु गरेको व्यवसायमा कँडेलले हालसम्म ५० लाख रुपैयाँभन्दा बढी लगानी गरिसक्नुभएको छ। दश रोपनी क्षेत्रफलमा तारबार लगाएर ठूलो संख्यामा कालिज हुर्काइरहनुभएको छ।

व्यवसाय विस्तारसँगै कँडेलले चल्ला पनि आफैँ उत्पादन गर्न थालेका छन्। स्वास्थ्यकर्मी भएका कँडेल बिहान–बेलुका फार्ममा रेखदेख गर्छन् भने दिउँसो बुर्तिबाङ प्रादेशिक अस्पतालमा ड्युटी गर्छन्। चराचुरुङ्गीप्रतिको बाल्यकालको रुचिले आज उनलाई सफल कालिज व्यवसायी बनाएको छ, जसका कारण टाढा–टाढाबाटै मानिसहरू फार्म हेर्न आउने गरेका छन्।

हाल कँडेलको फार्ममा करिब दुई हजार कालिज छन्, जसमा १,५०० बढी बिक्रीका लागि तयार छन्। दसैँ–तिहारको समयमा मात्र दुई सयभन्दा बढी कालिज बिक्री भएको उहाँ बताउनुहुन्छ। प्रतिकालिज रु २,००० देखि रु २,५०० सम्ममा बिक्री हुने गरेको छ। सुरुमा बजार पाउन कठिन भए पनि अहिले ग्राहक आफैँ फार्ममै आउन थालेका छन्।

कँडेल भन्छन्, “रहरले सुरु गरेको कामलाई व्यावसायिक बनाउन सकिने सम्भावना देखेपछि फार्म विस्तार गरें। सात वर्षमा धेरै सिकेँ, कालिजका बानी–भाषासमेत बुझ्न थालेको छु। सुरुमा धेरै समस्या आए, तर अहिले व्यवसाय राम्रो हुँदै गएको छ।”

तथापि, चुनौतिहरू अझै छन्। केही दिनअघि चितुवाले फार्ममा पसेर १५० कालिज मारेपछि करिब तीन लाख रुपैयाँ नोक्सानी बेहोर्नुपरेको उनले दुखेसो पोख्नु भयो। बाबु तुलसीराम कँडेलको सहयोगसहित अघि बढिरहेका कँडेलले यस वर्ष १५ लाख रुपैयाँ बराबरका कालिज बिक्री गर्ने लक्ष्य राखेका छन्। उत्पादन बढ्दै गए पनि बजार विस्तार भने अझै चुनौती रहेको उनी बताउँछन्।

Facebook Comments Box