नेपाल वायु सेवा निगमले महाप्रबन्धक पदका लागि दरखास्त आह्वान
काठमाडौँ, २७ कात्तिक – नेपाल वायु सेवा निगमले रिक्त महाप्रबन्धक पदका लागि खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान गरेको छ। निगमले बिहीबार बिहान सूचना जारी गर्दै इच्छुक तथा योग्य नेपाली नागरिकले सूचना प्रकाशित मितिदेखि १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिन सक्ने जानकारी दिएको छ। सूचनामा भनिएको छ कि आवेदन फाराम, उम्मेदवारको योग्यता तथा अनुभव, आवश्यक कागजात, परीक्षा छनोट विधि,
पारिश्रमिक र अन्य विवरण मन्त्रालयको वेबसाइट www.tourism.gov.np मा उपलब्ध छन्। प्रधानमन्त्री कार्यालयका अनुसार, छनोट समितिको बैठक ११ दिनसम्म नबस्दा पर्यटन सचिव हरिप्रसाद मैनालीलाई प्रधानमन्त्री सुशीला कार्कीले स्पष्टीकरण लिनुभएको थियो। स्रोतका अनुसार, त्यसै दिन बैठक बसालेर कार्यविधि तयार गरी हिजो (बुधबार) उक्त कार्यविधि स्वीकृत भएपछि दरखास्त आह्वानको सूचना प्रकाशित गर्ने निर्णय गरिएको हो।

