भोटखोलाका विद्यार्थीलाई सशस्त्र प्रहरीले न्यानो कपडा वितरण

सङ्खुवासभा, २३ कात्तिक – सङ्खुवासभाको भोटखोला गाउँपालिका–१, किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र प्रहरी बलले न्यानो कपडा वितरण गरेको छ। चैनपुरस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर–४ अरुण गुल्मको आयोजनामा शुक्रबार किमाथाङ्कामा आयोजित कार्यक्रममा ३० जना विद्यार्थीलाई जाडो मौसममा सहज रूपमा विद्यालय आउन–जान सहयोग पुगोस् भन्ने उद्देश्यले न्यानो लत्ताकपडा वितरण गरिएको हो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सृजना थपलिया, स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक तथा अभिभावकहरूको उपस्थिति रहेको थियो। प्रमुख जिल्ला अधिकारी थपलियाले सशस्त्र प्रहरी बल केवल सुरक्षा सुनिश्चिततामा सीमित नभई समुदायसँग जोडिएर सामाजिक उत्तरदायित्व वहन गर्दै आएको बताउनुभयो। उहाँले यस्ता अभियानहरूले स्थानीयवासीमा सुरक्षाप्रतिको विश्वास र आत्मीयता वृद्धि गर्न सहयोग पुर्‍याउने उल्लेख गर्नुभयो।

स्थानीयवासीहरूले पनि सशस्त्र प्रहरीले सञ्चालन गर्ने सामुदायिक सेवा कार्यक्रमले सीमावर्ती बस्ती र सुरक्षा निकायबीचको सम्बन्ध थप सुदृढ बनाएको प्रतिक्रिया दिएका छन्। सशस्त्र प्रहरी बलले देशका दुर्गम र सीमावर्ती क्षेत्रका विद्यार्थी, विपन्न परिवार तथा विपद्पीडित नागरिकका लागि नियमित रूपमा राहत तथा सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

Facebook Comments Box