नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक पदोन्नति
काठमाडौँ, १८ कात्तिक – सङ्घीय सरकारको गृहमन्त्रिस्तरीय निर्णयअनुसार नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा पदोन्नति भएका छन् । सोमबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो ।
पदोन्नति प्राप्त गरी दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले रहेका छन् । समारोहमा प्रहरी महानिरीक्षक खापुङले पदोन्नति प्राप्त अधिकृतहरूलाई बधाई दिँदै राष्ट्र, जनता र संगठनप्रति इमानदार, व्यावसायिक र कर्तव्यनिष्ठ प्रहरीको छवि कायम राख्दै काम गर्न निर्देशन दिनुभयो ।
उहाँले परम्परागत सोच र कार्यशैलीमा समयानुकूल परिवर्तन ल्याई प्रहरी सेवालाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । आईजीपी खापुङले वर्तमान संवेदनशील परिवेशमा प्रहरी कमाण्डरको भूमिका केवल प्रशासनिक नेतृत्वमा सीमित नभई नैतिक, रणनीतिक र प्रेरणादायी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विगतका घटनाबाट सिक्दै उच्च मनोबलका साथ जनसेवामा समर्पित रहन आग्रह गर्नुभयो ।
त्यसक्रममा उहाँले सम्भावित चुनौतीलाई ध्यानमा राखी सूचना सङ्कलन, विश्लेषण, रणनीतिक समन्वय र प्रभावकारी प्रहरी परिचालनलाई प्राथमिकतामा राख्दै प्रचलित कानुनको कार्यान्वयनमा कुनै सम्झौता नगर्न निर्देशन दिनुभयो ।समारोहमा पदोन्नति प्राप्त अधिकृतहरूको तर्फबाट प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले साङ्गठनिक भरोसा,
विश्वास र अपेक्षालाई कायम राख्दै संगठनको गौरव र प्रतिष्ठा बढाउने गरी कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति थियो ।

