दोलखाको यलुङ रि हिमालमा हिमपहिरो : ३ विदेशीको मृत्यु, ८ बेपत्ता, ४ घाइते
दोलखा, १७ कार्तिक – दोलखाको रोल्वालिङ क्षेत्रमा रहेको यलुङ रि हिमाल आरोहणका क्रममा विदेशी र स्वदेशी गरी १५ सदस्यीय आरोही टोली आज (सोमबार) दिउँसो हिमपहिरोमा परेको छ।
जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार, हालसम्म ३ विदेशी नागरिकको मृत्यु पुष्टि भएको छ।
‘हिमपहिरोमा परेका ३ जनाको मृत्यु भएको विवरण खुलेको छ,’ उनले भने, ‘निधन हुनेहरू क्यानडा, जर्मनी र फ्रान्सका नागरिक हुन्।’
उनका अनुसार, ८ जना बेपत्ता रहेका छन्, जसमा नेपाली सदस्य पनि छन्। साथै ४ जना घाइतेको उद्धारका लागि प्रयास भइरहेको छ।
‘घाइतेहरू बेसक्याम्पनजिकै रहेका छन्, उनीहरूको उद्धारका लागि हेलिकप्टर पठाइएको छ,’ आलेले बताए।
दिउँसो केहीबेर हेलिकप्टरमार्फत उद्धार प्रयास भए पनि मौसम खराबीका कारण खोजी कार्य सफल हुन नसकेको जनाइएको छ।
हाल स्थानीय टोली, नेपाली सेना र प्रहरी उद्धार तयारीमा खटिएको बताइएको छ।
यलुङ रि हिमाल दोलखाको रोल्वालिङ उपत्यकामा अवस्थित लोकप्रिय आरोहण गन्तव्य हो। पछिल्ला दिनमा लगातारको हिमपातका कारण सो क्षेत्रमा हिमपहिरोको जोखिम उच्च रहेको स्थानीय प्रशासनले जनाएको छ।

