पोखरा बसपार्कका सुकुमबासीलाई १८ ठाउँमा स्थानान्तरण गर्ने तयारी

कास्की – पोखराको बसपार्क क्षेत्रमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई स्थानान्तरण गर्ने तयारी थालिएको छ । जग्गा खोजबिन समितिको सिफारिसका आधारमा उनीहरूलाई महानगर क्षेत्रका १८ स्थानमा व्यवस्थापन गर्ने तयारी गरिएको हो ।

जग्गा पहिचानका लागि पोखरा महानगरपालिका–१७ की वडाध्यक्ष राधिका शाही योगीको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिले महानगरका प्रमुख सहरी वडाबाहेक अन्य वडामा चार रोपनीभन्दा बढी सार्वजनिक तथा पर्ती जग्गा भएका सम्भावित स्थान पहिचान गरी महानगर कार्यपालिकामा प्रतिवेदन पेस गरेको छ ।

संयोजक शाहीका अनुसार समितिले फिल्डबुक तथा मालपोत स्रेस्ता अध्ययन गरी वडा नं. १ देखि ९ बाहेकका वडामा रहेका दुई–तीन सम्भावित स्थान छनोट गरेर कार्यपालिकामा सिफारिस गरेको हो । तत्काल बसपार्क क्षेत्रमा रहेका सुकुमबासीलाई पहिलो प्राथमिकतामा राखेर व्यवस्थापन गर्ने र निस्सा पाएका अन्य भूमिहीनलाई क्रमिक रूपमा स्थानान्तरण गर्ने योजना रहेको शाहीले बताउनुभयो ।

उहाँले बसपार्कबाटै व्यवस्थापनको काम सुरु गर्ने तयारी रहेको बताउँदै निस्सा प्राप्त गरेका अन्य भूमिहीनको समेत छानबिन गरी जग्गा उपलब्ध गराउन आवश्यक जग्गा खोजी भइसकेको जानकारी दिनुभयो । समितिले सिफारिस गरेका जग्गाको प्राविधिक मापदण्ड तथा बस्ती विकासको सम्भाव्यता अध्ययन गर्ने जिम्मेवारी महानगरको पूर्वाधार समितिलाई दिइएको छ । समितिले शुक्रबारसम्म विस्तृत प्रतिवेदन महानगरमा बुझाउनेछ ।

प्रतिवेदन प्राप्त भएपछि सूचना जारी गरेर बसपार्क क्षेत्र खाली गर्न आग्रह गरिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो । प्राविधिक प्रतिवेदन आएपछि बढीमा एक महिनाभित्र बसपार्क क्षेत्र खाली गराउने तयारी रहेको उहाँको भनाइ छ । महानगरले सुकुमबासीलाई जग्गासँगै लालपुर्जा उपलब्ध गराउने विषयमा सुकुमबासी समस्या समाधान आयोगसँग समेत समन्वय गरिरहेको जनाएको छ ।

बसपार्क क्षेत्रमा रहेका नागरिकको चल–अचल सम्पत्तिको अन्तिम प्रमाणीकरण गरी जग्गा व्यवस्थापन गर्ने योजना महानगरको छ । सम्भव भएसम्म बसपार्क क्षेत्रका सबै परिवारलाई एउटै स्थानमा व्यवस्थापन गर्ने योजना रहे पनि पर्याप्त जग्गा उपलब्ध नभए कम्तीमा एउटा टोललाई एउटै स्थानमा राख्ने तयारी गरिएको प्रमुख आचार्यले बताउनुभयो ।

महानगरका अनुसार बसपार्क क्षेत्रमा भूमिहीन दलित र भूमिहीन सुकुमबासी गरी २८६ परिवार तथा अव्यवस्थित बसोबासी २३३ परिवार छन् । लामो समयको अध्ययन तथा छानबिनपछि उनीहरूको नामावली तयार गरिएको हो । बसपार्क क्षेत्रमा दोहोरो नाम परेका वा विवरण नमिलेका ५५ परिवारसमेत रहेको महानगरले जनाएको छ ।

स्थानान्तरण गरिने बस्तीमा खानेपानी, विद्युत्, सडकलगायत न्यूनतम पूर्वाधारको व्यवस्था गर्ने महानगरको तयारी छ । तर सुकुमबासी पक्षले भने प्रतिपरिवार चार आनाका दरले कित्ताकाट गरी लालपुर्जासहित स्थायी व्यवस्थापनको ग्यारेन्टी नभएसम्म बसपार्क क्षेत्र खाली नगर्ने अडान राखेको छ । स्थानान्तरणअघि प्रस्तावित बस्तीमा खानेपानी, विद्युत्, सडकलगायत न्यूनतम पूर्वाधार निर्माण गरिनुपर्ने उनीहरूको माग छ ।

बसपार्क क्षेत्रमा रहेका सुकुमबासी तथा अव्यवस्थित बसोबासीको छानबिनका लागि प्रशासन महाशाखा प्रमुख कृष्ण तिवारीको संयोजकत्वमा गठित समितिले अन्तिम नामावली तयार गरेको हो । वडा नं. ९ ले सर्वदलीय बैठकबाट प्रतिवेदन तयार गरी महानगरपालिकामा पठाएको थियो भने उक्त फाइल जिल्ला प्रशासन कार्यालयमा समेत पठाइएको महानगरले जनाएको छ ।

बस्ती व्यवस्थापनका लागि इन्जिनियर सुरेन्द्र पौडेलको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ । समितिले स्थानान्तरणका लागि पहिचान गरिएका जग्गाको प्राविधिक अवस्था र बस्ती विकासको सम्भाव्यताबारे अध्ययन गरिरहेको छ ।

Facebook Comments Box