भिजिट भिसामा प्रस्थानका लागि सहज प्रावधान लागू
काठमाडौँ, १४ कात्तिक – अध्यागमन प्रशासनमा सुशासन र व्यावसायिकता प्रवद्र्धन गर्दै सरकारले भिजिट भिसामा प्रस्थान गर्ने नेपाली नागरिकका लागि नयाँ सहज प्रावधान लागू गरेको छ। यससँगै यसअघि कार्यान्वयनमा रहेका ६ बुँदे मापदण्ड र विभिन्न समयमा जारी प्रावधानहरू खारेज गरिएको छ।
अध्यागमन विभागले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिँदै भन्यो, भिजिट भिसामा विदेश जान चाहने यात्रुले राहदानी, प्रवेशाज्ञा, हवाई टिकट र आवश्यक कागजात पेस गरेमा प्रस्थान अनुमति पाउने व्यवस्था गरिएको छ।
विभागले वितरण गरेको विज्ञप्तिअनुसार, अब भिजिट भिसामा यात्रा गर्नका लागि यात्रुमा—
-
कम्तीमा ६ महिना वैध राहदानी,
-
सम्बन्धित देशको प्रवेशाज्ञा वा अन–अराइभल भिसा पाउने मुलुक भए प्रवेशाज्ञा नचाहिने,
-
गन्तव्यसम्मको हवाई टिकट,
-
भ्रमण प्रयोजनका आवश्यक कागजात,
-
र स्वघोषणा पत्र (आफ्नो यात्राको जिम्मेवारी स्वयम् लिने) आवश्यक हुनेछ।
विभागका अनुसार, यसअघि लागू ६ बुँदे मापदण्ड पुनरावलोकन गर्न सिफारिस गरिएको छ। यस विषयमा गठित उच्चस्तरीय अध्ययन तथा छानबिन समिति, २०८२ ले पनि नागरिकका मौलिक हक, मानवअधिकार र स्वतन्त्र आवतजावतको अधिकार सुनिश्चित गर्नुपर्ने र स्वार्थ समूहको चलखेल रोक्नुपर्ने सुझाव दिएको थियो।
विभागद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ—
“यो नयाँ व्यवस्था आजैदेखि लागू भएको छ। सबै नेपाली नागरिकलाई कुनै पनि बिचौलियाको प्रभावमा नपरी आफ्नो यात्राबारे पूर्ण जानकारीसहित निर्धक्क भई यात्रा गर्न अनुरोध छ।”
यस्तै, विभागले सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूलाई यो सूचना नागरिकसम्म प्रभावकारी रूपमा सम्प्रेषण गर्न सहयोग गर्न आग्रह गरेको छ।
भिजिट भिसामा प्रस्थानका क्रममा देखिएका हैरानी र अनियमितता हटाउने, अध्यागमन नियमन र सहजीकरणबीच सन्तुलन कायम गर्ने, र राष्ट्रिय सुरक्षासँग सम्बद्ध चुनौतीहरूलाई सम्बोधन गर्ने उद्देश्यले अध्यागमन प्रशासनलाई अझ सुदृढ र पारदर्शी बनाउने कार्य अघि बढाइएको विभागले स्पष्ट पारेको छ।
विज्ञप्तिमा थप भनिएको छ, “अध्यागमन प्रशासनमा पूर्ण सुशासन कायम गर्दै नागरिकमैत्री सेवा प्रवाह गर्नु नै विभागको मुख्य कार्यभार हुनेछ।”

