आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस
काठमाडौँ, १४ कात्तिक – महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण, आन्तरिक लेखापरीक्षण वार्षिक प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस गरेको छ ।
महालेखा नियन्त्रक शोभाकान्त पौडेलले आज अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष यी प्रतिवेदन र विवरणहरू औपचारिक रूपमा पेस गर्नुभयो । साथै, कार्यालयले सो विवरण र प्रतिवेदन महालेखा परीक्षकको कार्यालयमा पनि पठाएको छ ।
महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता दीपक लामिछानेका अनुसार, यी प्रतिवेदनहरू नेपाल सार्वजनिक क्षेत्र लेखामान र महालेखापरीक्षकबाट स्वीकृत लेखा ढाँचाअनुसार तयार पारिएका हुन् । यसमा नेपाल सरकारका बजेट तथा एक्स्ट्रा बजेटरी निकायका विवरणहरू समावेश छन् ।
प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारको
-
सञ्चित कोष रु १ खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक,
-
नगद अवस्था रु ३१ अर्ब ३४ करोड ६१ लाखले ऋणात्मक देखिएको छ ।
तर, विभिन्न कोषहरूको मौज्दात र एक्स्ट्रा बजेटरी निकायको बाँकी मौज्दात रकमका आधारमा नगद तथा बैंक मौज्दात रु ६५ अर्ब ८१ करोड २६ लाखले धनात्मक रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
यस प्रतिवेदनमार्फत सरकारले गत वर्षको आय–व्यय, सम्पत्ति, दायित्व र वित्तीय व्यवस्थापन सम्बन्धी समग्र विवरण सार्वजनिक गरेको हो ।

