बीपी राजमार्गका काभ्रे खण्डमा पहिरो, सवारी आवागमन पूर्णरूपमा अवरुद्ध
काभ्रेपलाञ्चोक, १४ कात्तिक – अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डका विभिन्न स्थानमा पहिरो र लेदो खसेपछि सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ। राजमार्गको अवरोध हटाउन समय लाग्ने भएकाले पूर्वतर्फ जाने सवारीसाधनहरू काभ्रेको भकुन्डे क्षेत्रमा रोकिएका छन्।
अविरल वर्षाका कारण चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेको प्रहरीले जनाएको छ। त्यस्तै, नार्के, पिन्थलीबेसी, विरुवाडाँडा लगायत स्थानहरूमा लेदोका कारण सडक पूर्णरूपमा बन्द भएको हो। इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार चौकीडाँडामा खसेको पहिरो पन्छाउने क्रममा पुनः माथिबाट पहिरो खसेपछि कार्य रोकिएको छ।
लगातार वर्षा भइरहेकाले जोखिम बढेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख कोमल शाहका अनुसार राजमार्ग सञ्चालनमा ल्याउन केही समय लाग्नेछ। उनले यात्रु र चालकलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेका छन्।

