देशभर पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव, वर्षाको सम्भावना

काठमाडौँ, १३ कात्तिक – हाल देशका विभिन्न भागमा सक्रिय पश्चिमी वायु र बङ्गालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण देशका कतिपय स्थानमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार, देशमा पश्चिमी वायुको सक्रियता बढ्दो क्रममा छ भने अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव नेपालमा समेत परेको छ। आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा अधिकांश समय बादल लाग्नेछ भने तराईका क्षेत्रहरूमा सामान्य बदली रहनेछ।

कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा वर्षासँगै हिमपात हुन सक्ने महाशाखाको अनुमान छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि हल्का वर्षा हुने सम्भावना छ।

देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही भागमा मध्यम स्तरको हिमपात हुन सक्ने चेतावनी दिइएको छ। महाशाखाले वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रहरूमा यात्रा गर्ने सर्वसाधारणलाई सावधानी अपनाउन अनुरोध गरेको छ। साथै, यस मौसमी अवस्थाबाट प्रभावित हुन सक्ने किसानलाई समेत आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।

Facebook Comments Box