मिथिलामा आज कुष्माण्ड नवमी पर्व मनाइँदै

महोत्तरी, १३ कात्तिक – मधेस प्रदेशका महोत्तरीसहित मिथिला क्षेत्रभर आज कुष्माण्ड नवमी पर्व उल्लासपूर्वक मनाइँदैछ । अक्षय नवमी, धातृ नवमी र इच्छा नवमी नामले समेत चिनिने यो पर्व कात्तिक शुक्ल नवमीका दिन मनाउने परम्परा रहिआएको छ। यस दिन अमलाको (धातृ) रूखमुनी सामूहिक रूपमा भोजन गरेर रमाइलो चाडबाड मनाउने मैथिल संस्कार छ।

पर्व मनाउनका लागि एक दिनअघि नै परिवार र समुदायले सामूहिक भोजनको तयारी गर्छन्। घर आँगन, बगैँचा वा वन क्षेत्रमा रहेका अमलाका रूखमुनि परिकार पकाएर त्यहीँ खाने चलन रहेको स्थानीयहरूको भनाइ छ। खाना पकाउँदा वा खाने बेला अमलाका पात खानेकुरामा परे शुभ हुने विश्वास छ।

यो पर्वमा साकाहारी भोजन मात्र पकाइन्छ र अमलाका विशेष परिकार—अचार, मुरब्बा, चटनी आदिको प्रयोग गरिन्छ। मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्र दास वैष्णवका अनुसार, “अमला अत्यन्त गुणकारी फल हो। यसको सेवनले जाडोयाममा रोगसँग लड्ने क्षमता बढाउँछ। यही स्वास्थ्य सन्देशका लागि पूर्वजहरूले यो पर्व परम्परागत रूपमा सुरु गरेका हुन्।”

यस अवसरमा किशोर–युवाहरू वनभोजको तयारीमा व्यस्त हुने गर्छन्। संस्कृतिविद् ध्रुव रायका अनुसार, “युवापुस्ताको सक्रिय सहभागिताले परम्परागत संस्कृतिको संरक्षण, विकास र निरन्तरता सुनिश्चित गर्न मद्दत गर्छ।” त्यस्तै, वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झाले भने, “अमलाको नियमित प्रयोगमा जोड दिने परम्पराले यो पर्व स्वास्थ्य सचेतनाका दृष्टिले पनि उपयोगी बनेको छ।”

कुष्माण्ड नवमीसँग सम्बन्धित एक द्वापरयुगीन कथा पनि मिथिला क्षेत्रमा प्रचलित छ। कथाअनुसार, कात्तिक शुक्ल नवमीका दिन भगवान् श्रीकृष्णले कुष्माण्डक नामक दैत्यको संहार गरी कंश वधअघि मथुरा, वृन्दावन र गोवर्द्धन पर्वत क्षेत्रको परिक्रमा गर्नुभएको थियो। त्यसैले यो दिन ‘कुष्माण्ड नवमी’ नामले चिनिएको संस्कृतिविद् राय बताउँछन्।

त्यस्तै, मिथिलाको जनविश्वासअनुसार कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाको रूखमा वास गर्नुहुन्छ। यस दिन विष्णु आराधनाले अक्षय पुण्य प्राप्त हुने भएकाले यसलाई ‘अक्षय नवमी’ भनिन्छ। श्रीविष्णुको आराधनाले इच्छित मनोकामना पूरा हुने भएकाले ‘इच्छा नवमी’ र अमलाको प्रयोगमा जोड दिइने परम्पराका कारण ‘धातृ नवमी’ पनि भनिन्छ।

मिथिला क्षेत्रका साहित्यकार डा. राजेन्द्रप्रसाद विमलका अनुसार, “अमला स्वास्थ्यवर्धक फल भएकाले यो पर्व केवल धार्मिक नभई स्वास्थ्य सचेतनाको पर्व पनि हो, जुन पूर्वजहरूले मानवकल्याणका दृष्टिले सुरु गरेका थिए।”

Facebook Comments Box