सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच पहिलो त्रिपक्षीय वार्ता आज

काठमाडौँ, १२ कात्तिक – प्रतिनिधि सभा निर्वाचनका लागि अनुकूल वातावरण बनाउन सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच आज पहिलो पटक त्रिपक्षीय वार्ता हुँदैछ। प्रधानमन्त्री सुशीला कार्कीको पहलमा प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्ने तयारी भएको हो। उक्त बैठकमा सरकारले राजनीतिक दलका शीर्ष नेताहरू र जेनजी समूहका प्रतिनिधिहरूलाई सहभागिताका लागि आमन्त्रण गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार निर्वाचनको तयारी र वातावरण निर्माणका विषयमा पहिलो पटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच संयुक्त छलफल आयोजना गरिएको हो। उनले भने, “निर्वाचन सफल बनाउन सरकार चरणबद्ध रूपमा राजनीतिक दल र सम्बद्ध पक्षहरूसँग संवाद गर्दै आएको छ।”

यसअघि ४ कात्तिकमा सरकार र राजनीतिक दलबीच भएको छलफलमा निर्वाचन तोकिएको समयमा सम्पन्न गर्ने विषयमा सकारात्मक सहमति बनेको थियो। लामो समयपछि औपचारिक राजनीतिक संवाद पुनःसञ्चालित हुन लागेकाले यस बैठकबाट निर्वाचन वातावरण तयार गर्न महत्वपूर्ण प्रगति हुने अपेक्षा गरिएको छ।

Facebook Comments Box