नेतान्याहूबाट गाजामा आक्रमणको आदेश, युद्धविराम पुनः संकटमा

तेलअभिव, १२ कात्तिक  — इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सेनालाई गाजा क्षेत्रमा आक्रमण गर्न आदेश दिएका छन्। इजरायलले हमासका लडाकूहरूले युद्धविराम सम्झौता तोड्दै राफा क्षेत्रमा इजरायली सेनामाथि गोली प्रहार गरेको आरोप लगाएको हो।

सुरक्षा सल्लाहकारहरूसँगको आपतकालीन बैठकपछि नेतान्याहूले तत्काल आक्रमणको आदेश दिएका इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन्। यस घटनाले गाजामा फेरि तनाव बढाएको छ र हालै स्थापित शान्ति प्रक्रियामा ठूलो झटका पुगेको बताइन्छ।

इजरायल र हमासबीच २० दिनअघि मात्रै युद्धविराम सम्झौता भएको थियो। सो सम्झौताअनुसार दुवै पक्षले आक्रमण रोक्ने र बन्धकका शव फिर्ता गर्ने सहमति गरेका थिए। तर नेतान्याहूले हमासमाथि फिर्ता गर्नुपर्ने इजरायली बन्धकको शव गलत रूपमा पठाएको आरोप लगाएका छन्। उनले भने, “यो सम्झौतामाथिको स्पष्ट उल्लङ्घन हो।”

हमासले भने इजरायली आक्रमणका कारण शव फिर्ता कार्यक्रम रोकिएको जनाएको छ। हाल गाजामा १३ जना बन्धकका शव अझै फिर्ता हुन बाँकी छन्। इजिप्टले शव खोजीका लागि प्राविधिक र मेसिन पठाएको भए पनि युद्धग्रस्त क्षेत्रमा ध्वंसका कारण शव फेला पार्न कठिनाइ भएको बताइएको छ।

यसैबीच, इजरायली मिडियाका अनुसार नेतान्याहूले गाजामा मानवीय सहायता रोक्ने, कब्जा विस्तार गर्ने र हमास नेताहरूलाई लक्षित गरी हवाई आक्रमण गर्ने विकल्पहरूबारे पनि छलफल गरिरहेका छन्। मंगलबार बिहान इजरायली सेनाले वेस्ट बैंकको जेनिन क्षेत्रमा छापा मारी तीन जना प्यालेस्टिनी लडाकूलाई मारेको दाबी गरेको छ।

इजरायली पक्षले ती व्यक्तिहरू आतंकवादी गतिविधिमा संलग्न रहेको बताएको छ, जबकि हमासले तिनीहरू आफ्ना कासिम ब्रिगेडका सदस्य भएको पुष्टि गरेको छ। प्यालेस्टिनी मानवअधिकार संस्थाहरूले भने निर्दोष नागरिकहरू पनि मारिँदै गएका र हजारौँ मानिस विस्थापित भइसकेको बताएका छन्। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्मको द्वन्द्वमा ६८ हजार ५०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ।

Facebook Comments Box