आज देशभर मौसम बदली रही वर्षा हुने, तराईका केही स्थानमा हावाहुरीको सम्भावना
काठमाडौँ, २२ भदौ – आज देशभर मौसम बदली र वर्षा तथा तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यतिबेला भने देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली भई कोशी प्रदेशका केही तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। ‘लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भने अहिले वर्षा भएको देखिन्न’, उनले भनिन्।
महाशाखाका अनुसार दिउँसो देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना साथै मधेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेकाे छ।
यस्तै राति पनि देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
महाशाखाले वर्षाका कारण बहने नदीको जलसतह हल्का बढ्नसक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिमलगायत चट्याङ तथा हावाहुरीको क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेकाे छ।

