रेजिडेन्ट चिकित्सकलाई २४ घण्टे ड्युटीपछि अनिवार्य विश्राम दिन निर्देशन

काठमाडौँ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातकोत्तर आवासीय चिकित्सक (रेजिडेन्ट डाक्टर) लाई लगातार २४ घण्टा ड्युटी पूरा गरेपछि अनिवार्य रूपमा पर्याप्त विश्रामको व्यवस्था गर्न विभाग प्रमुख तथा कार्यक्रम निर्देशकलाई निर्देशन दिएको छ । नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगका निर्देशन तथा पत्रलाई आधार बनाउँदै प्रतिष्ठानको स्कुल अफ मेडिसिनका डीन डा आशिष श्रेष्ठले सूचना जारी गर्दै उक्त व्यवस्था कार्यान्वयन गर्न आग्रह गर्नुभएको हो ।

प्रतिष्ठानले सक्षमतामा आधारित चिकित्सा शिक्षा सञ्चालन गर्दै आएको र सोहीअनुसार आवासीय चिकित्सकको दक्षता, व्यावसायिक निष्ठा तथा सिकाइका अवसर सुनिश्चित गर्न जोड दिएको जनाएको छ । स्नातकोत्तर कार्यक्रम सक्षमतामा आधारित भएकाले तोकिएको अवधिभित्र निर्धारित सक्षमता हासिल हुने गरी शिक्षण–सिकाइ तथा निर्माणात्मक मूल्याङ्कनका गतिविधिलाई समयबद्ध, व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्नसमेत प्रतिष्ठानले निर्देशन दिएको छ ।

Facebook Comments Box