सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया सुरु
काठमाडौँ, ९ कात्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको निर्देशनअनुसार ठेक्का सम्झौता गरी काम नगरेका वर्षौंदेखि अलपत्र परेको १२ सिँचाइ ठेक्का तोडिएको छ। साविकको जनताको तटबन्ध कार्यक्रम अन्तर्गत फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरीमा रहेका ठेक्का र बबई सिँचाइ आयोजनाका ६ ठेक्का तोड्न सार्वजनिक सूचना पनि प्रकाशित भइसकेको छ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, जनकपुरधामले जनाएको छ कि निर्माण व्यवसायीले सम्झौता अनुसार काम नगरेको र अलपत्र पारेको कारण ठेक्का अन्त्य गरिएको हो। यसैगरी, कार्यसम्पादन जमानत जफत गर्ने प्रक्रिया पनि अघि बढाइएको छ। रद्द गरिएका ठेक्का आर्थिक वर्ष २०६८/६९, २०६९/७०, २०७३/७४ र २०७४/०७५ का हुन्।
सडक ठेक्का पनि तोड्ने प्रक्रिया सुरु
सडक र पुल निर्माणका लागि वर्षौंदेखि अलपत्र रहेका ४० ठेक्का तोड्ने प्रक्रिया पनि सुरु गरिएको छ। सडक विभागका तुम्लिङ्टार, इलाम, हेटौंडा र नेपालगञ्ज डिभिजन कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गरेका छन्।
-
तुम्लिङ्टार: १७ ठेक्का
-
इलाम: १२ ठेक्का
-
हेटौंडा: ७ ठेक्का
-
नेपालगञ्ज: ४ ठेक्का
यसअघि विभिन्न डिभिजन कार्यालयले ६८ ठेक्का तोडिसकेको छ। निर्माण व्यवसायीले समयमै काम नगरेको, म्याद थप गरेर समेत अधुरो राखेको र ठेक्का उल्लङ्घन गरेको देखिएमा ठेक्का सम्झौता अन्त्य, कालोसूचीमा राख्ने, कार्यसम्पादन जमानत र पेश्की जफत, ब्याजसहित रकम असुल लगायत कानूनी कारबाही अघि बढाइने जनाइएको छ।
सूचना प्रकाशित भएको १५ दिनभित्र व्यवसायीले संशोधित कार्यतालिका, स्रोत साधन परिचालन योजना र कार्य सम्पन्न प्रतिबद्धता प्रस्तुत नगरेको खण्डमा उक्त कारबाही लागु हुनेछ।

