मेची भन्सारबाट अलैँची निर्यात ३३ प्रतिशतले बढ्यो
झापा, ९ कात्तिक — चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा मेची भन्सार कार्यालयबाट अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। भन्सार कार्यालयका अनुसार यो अवधिमा अलैँची निर्यात ३३ प्रतिशतले बढेर रु एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार पुगेको हो।
तीन महिनामा एक हजार ७२ मेट्रिक टन अलैँची निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले राससलाई जानकारी दिनुभयो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा रु एक अर्ब सात करोड २२ लाख बराबरको अलैँची निर्यात भएको थियो।
भन्सार तथ्याङ्कअनुसार भने यस अवधिमा चियाको निर्यात घटेको छ। चालु आवको पहिलो त्रैमासिकमा चिया निर्यात ४० दशमलव ९० प्रतिशतले घटेर रु एक अर्ब एक करोड २१ लाख ८६ हजारमा सीमित भएको छ। अघिल्लो वर्ष सोही अवधिमा रु एक अर्ब ७१ करोड ४० लाख ३१ हजार बराबरको चिया निर्यात भएको थियो।
यस्तै, निर्यात हुने अन्य प्रमुख वस्तुहरूमा भेनियर सिट १२६ प्रतिशत, छुर्पी ६१ दशमलव ८० प्रतिशत, प्लाइउड शतप्रतिशत, काउली–ब्रोकाउली–बन्दागोभी ७१ दशमलव ४० प्रतिशत, धातुका अवशेष शतप्रतिशत र मुसुरो दाल ४८१ प्रतिशतले बढेको देखिएको छ। तर, अदुवा ३२ दशमलव ३० प्रतिशत र अम्रिसो २४ प्रतिशतले घटेको भन्सार कार्यालयले जनाएको छ। मेची भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल रु चार अर्ब ८० करोड ३९ लाख २४ हजार बराबरको मालवस्तु निर्यात भएको छ।

