मेची भन्सार : पहिलो त्रैमासमा रु ४ अर्ब १५ करोड राजस्व सङ्कलन
झापा, ३ कात्तिक – आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा मेची भन्सार कार्यालयले ९५ प्रतिशत राजस्व लक्ष्य पूरा गरेको छ। पूर्वी नाका काँकडभिट्टास्थित भन्सार कार्यालयले साउन, भदौ र असोज महिनामा लक्ष्यित रु ४ अर्ब ३६ करोड २८ लाख ५५ हजार मध्ये रु ४ अर्ब १५ करोड २० लाख ८ हजार राजस्व असुली गर्न सफल भएको छ।
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाइँका अनुसार सबैभन्दा बढी राजस्व आयातित सामानको भन्सार महसुलबाट प्राप्त भएको हो, जसको रकम रु १ अर्ब ८० करोड ५३ लाख ७९ हजार ५४९ रहेको छ।
त्यस्तै,
-
मूल्य अभिवृद्धि कर (VAT) बाट रु १ अर्ब ४९ करोड २३ लाख ६४ हजार ३९३,
-
सडक मर्मत तथा सुधार दस्तुरबाट रु १३ करोड १७ लाख १२ हजार,
-
आयातको अन्तः शुल्कबाट रु ११ करोड ३ लाख ५९ हजार ९३,
-
निर्यात भन्सार महसुलबाट रु १० करोड ६२ लाख १० हजार १२४, र
-
पूर्वाधार करबाट रु ३९ करोड ५३ लाख ६० हजार राजस्व सङ्कलन भएको छ।
जेनजी आन्दोलनका कारण आयात–निर्यातमा केही प्रभाव परेको भए पनि, भन्सारले गत असोज महिनामा मासिक लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ। असोज महिनाको लक्ष्य रु १ अर्ब ५० करोड ४९ लाख २४ हजार रहेकोमा, वास्तविक असुली रु १ अर्ब ५२ करोड २४ लाख ९० हजार पुगेको कार्यालयले जनाएको छ। यससँगै, मेची भन्सार कार्यालय देशका प्रमुख राजस्व सङ्कलक भन्सारमध्ये एक रहँदै आएको छ।

