प्रदेश-१ मा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ४९ पुग्यो, साढे ८ सय परिवार विस्थापित
विराटनगर, ३ कात्तिक – प्रदेश-१ मा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ । केही दिनदेखि अविरल परेको वर्षासँगै आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको हो । यो संख्या थप बढ्न सक्ने प्रदेश-१ का डीआईजी अरुणकुमार बिसीले जानकारी दिए । उनका अनुसार प्रदेश-१ मा बेपत्ता हुनेको संख्या १६ पुगेको छ ।
प्रदेशमा सबैभन्दा बढी पाँचथरमा २१ जनाको मृत्यु भएको छ । डीआईजी बिसीका अनुसार पाँचथरमा ११ जनाको मात्रै मृत्यु पुष्टि भएको छ ।यस्तै मिक्लाजुङ गाउँपालिकामा थप १० जनाको मृत्यु भएको जानकारी आएपनि सञ्चार सम्पर्क नहुँदा पुष्टि हुन बाँकी रहेको उनले बताए । उनका अनुसार इलाममा पहिरोमा परी १३ जनाको मृत्यु भएको भने धनकुटामा पहिरोबाट सातजनाको मृत्यु भएको उनले बताए ।
बाढी पहिरोका कारण सुनसरीमा ४, उदयपुरमा २, भोजपुर र मोरङमा १–१ जनाको मृत्यु भएको डीआईजी बीसीले बताए। सञ्चार सम्पर्क बिच्छेद हुँदा पहाडि जिल्लाहरुबाट पूर्ण विवरण आउन बाँकी रहेको उनको भनाइ छ । ‘सबै क्षेत्रमा सम्पर्क हुन सकेको छैन,’ डीआईजी बिसीले भने,‘ सञ्चार सम्पर्क हुन नपाउँदा क्षतिको विवरणहरु आइसकेको छैन ।’
मोरङका विभन्न खोलामा आएको बाढीका कारण प्रभावित भएका दुई हजार सात सय ९३ जनाको उद्धार गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार ८ सय ६६ परिवारका दुई हजार सात सय ९३ जनाको उद्धार गरिएको हो । बाढी प्रभावितहरुलाई सुरक्षित स्थानमा सारेर राहत वितरण गर्ने तयारी भइरहेको उनले बताए ।
खोलामा पानी घटेका कारण केही परिवार आफ्नो घरमा फर्किएका छन् । प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार मोरङमा एकजनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् । विराटनगरको महेन्द्र मोरङ कलेज पछाडिपट्टी नालीमा २५ वर्षीय इसान भुजेलको शव भेटिएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका– ४ बाट ४० वर्षीय सिटी सफारी चालक जीवन पराजुली बेपत्ता भएका छन् । राजमार्गमा बाढीले उनको सिटी बगाएको थियो ।
सिंघिया खोलामा एक जना बेपत्ता भएका छन् । खोलाले बगाएर ल्याउँदै गरेको ग्यास सिलिण्डर निकाल्नका लागि पसेका विराटनगर महानगरपालिका– १ का २१ वर्षीय सञ्जीव कामत बेपत्ता भएका हुन् । उनको खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।
बाढी प्रभावितलाई राहत वितरण गर्नका लागि जिल्ला स्तरीय विपत व्यवस्थापन समितिको बैठक बसेको उनले बताए । प्रभावितलाई तत्कालका लागि खाद्यान्य वितरणका लागि उद्योगी व्यावसायीसँग पनि छलफल गरिएको उनले बताए । उनका अनुसार पहिलो चरणमा स्थानीय जनप्रतिनिधिले राहत वितरण गरेका छन् ।

