परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट फिर्ता भयो सेना

काठमाडौँ, १ कात्तिक — ‘जेनजी’ प्रदर्शनपछि सुरक्षाको जिम्मेवारीसहित खटाइएको नेपाली सेनाको फौज परिस्थिती सामान्य बन्दै गएपछि ४१ स्थानबाट फिर्ता भएको छ। गत भदौ २३ र २४ गतेको प्रदर्शनपछि उपत्यकाभित्र पाँच र बाहिर ५७ गरी ६२ वटा कारागार र अन्य महत्त्वपूर्ण संरचनाको सुरक्षार्थ सेना तैनाथ गरिएको थियो।

सेनाका अनुसार अहिले पनि २१ स्थानमा फौज तैनाथ छ। प्रदर्शनका क्रममा देखिएको आगजनी, तोडफोड र दङ्गाजस्ता चुनौतीपूर्ण अवस्थालाई सेनाले छदेखि आठ घण्टामै नियन्त्रणमा ल्याएको बताइएको छ। सेनाका उपरथी तथा युद्धकार्य महानिर्देशक अनुपजङ्ग थापाका अनुसार यस क्रममा कुनै मानवीय क्षति नभई शतप्रतिशत उद्धार सम्भव भएको थियो।

उहाँले भन्नुभयो, “अत्यन्त जटिल र जोखिमपूर्ण अवस्थामा पनि शून्य मानवीय क्षतिसहित उद्धार कार्य सम्पन्न गर्न सफल भयौँ, जसले अत्यावश्यक सेवा र वस्तुको प्रवाहमा सहजता ल्यायो।”

थापाका अनुसार सिंहदरबारमा आगजनी भए पनि सेनाको समयमै गरिएको हस्तक्षेपका कारण राष्ट्रिय सुरक्षा परिषद्, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयको ‘डाटा सेन्टर’ लगायतका रणनीतिक कागजात सुरक्षित राख्न सफल भएको थियो।

सेनाले सञ्चालनमा ल्याएको ‘हटलाइन’मार्फत चोरी, लुटपाट र आगजनीसम्बन्धी गुनासा तत्काल सम्बोधन गर्दै जनताको सुरक्षामा भरोसा दिलाइएको पनि जनाएको छ।

“त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमणको योजना सहित भेला भएका करिब दुई हजार प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर भदौ २५ गतेदेखि विमानस्थल पूर्ण रूपमा सञ्चालन गरिएको थियो,” महानिर्देशक थापाले बताउनुभयो, “विमानस्थलमा रहेका विदेशी पर्यटक र कूटनीतिक नियोगहरूको सुरक्षाको समेत व्यवस्था गरिएको थियो।”

सेनाको भनाइअनुसार, पहिलो चरणमा सिंहदरबारभित्र प्रवेश गरेका प्रदर्शनकारीलाई नियन्त्रणमा लिइए पनि बढ्दो भीडका कारण घातक हतियार प्रयोग गर्नुपर्ने अवस्था आएपछि मानवीय क्षति हुन नदिन विशेष संयमता अपनाइएको थियो।

Facebook Comments Box