बजारलाई थप व्यवस्थित बनाउन अनुगमन तीव्र बनाउँदै कामपा

काठमाडौँ, ३० असोज – चाडपर्व नजिकिँदै जाँदा काठमाडौँ महानगरपालिकाले बजारलाई थप व्यवस्थित र सुरक्षित बनाउन अनुगमनलाई तीव्रता दिएको छ।

कामपा र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संयुक्त रूपमा सुरु गरेको अनुगमन अभियानले नयाँबानेश्वर क्षेत्रमा रहेका साना होटल तथा रेष्टुराँहरूमा अनियमितता फेला पारेको छ।

काठमाडौँ महानगरपालिका कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार धेरै व्यवसाय कानुनविपरीत सञ्चालनमा रहेको पाइएको छ। उहाँले नियमानुसार सञ्चालनमा आउन निर्देशन दिँदै अटेर गर्ने व्यवसायमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी दिनुभयो।

प्रमुख न्यौपानेले भन्नुभयो, “महानगर अनुगमन गरेर व्यवसायीलाई तर्साउन चाहँदैन, तर सरसफाइ र स्वच्छतामा ध्यान दिनु व्यवसायी र उपभोक्ता दुवैका हितमा हो।” उहाँका अनुसार सानो लापरवाहीले पनि विभिन्न रोगको संक्रमण फैलिन सक्ने भएकाले व्यवसायीले आफ्नो कर्तव्य नबिर्सनुपर्छ।

त्यसैगरी कामपाका खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका सल्लाहकार सन्तोष गिरीले महानगरले बजार सशक्तीकरण, अनुगमन र नियमनलाई प्राथमिकतामा राखेको बताउनुभयो।

“हामी बजारको वास्तविक अवस्था बुझ्दैछौँ, व्यवसायी कति सचेत छन् भन्ने मूल्याङ्कन गर्दैछौँ,” उहाँले भन्नुभयो, “राम्रो गर्नेलाई हौसला दिन्छौँ, कमजोरी देखिए सम्झाउँछौँ, सचेत गराउँछौँ; तर अटेर गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ।”

महानगरले मापदण्डविपरीत सञ्चालनमा रहेका व्यवसायलाई खाद्य अनुज्ञापत्रमा तोकिएका वस्तु मात्र प्रयोग गर्न, सरसफाइमा विशेष ध्यान दिन, मास्क, एप्रोन र पञ्जाजस्ता सुरक्षा सामग्री प्रयोग गर्न,

फोहर व्यवस्थापनमा डस्टबिन अनिवार्य रूपमा राख्न, व्यवसाय दर्ता समयमै नवीकरण गर्न र मापदण्डअनुसार सञ्चालनमा ल्याउन निर्देशन दिएको छ। साथै स्पष्टीकरणसहित महानगरमा उपस्थित हुन पनि भनिएको छ।

कामपाका अनुसार अनुगमनको उद्देश्य व्यवसायीलाई डर देखाउने होइन, बरु स्वच्छ, जिम्मेवार र कानुनअनुसार व्यवसाय सञ्चालन गर्न प्रेरित गर्नु हो। तथापि, पटक–पटक सचेत गराउँदा पनि अटेर गर्ने व्यवसायीमाथि कानुनअनुसार कारबाही गरिने महानगरले चेतावनी दिएको छ।

कामपाले व्यवसायीको सानो लापरवाहीले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले सबै व्यवसायीले जिम्मेवार भएर सेवालाई मापदण्डअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ।

Facebook Comments Box