बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बीमामा सूचीकृत
बागलुङ, ३० असोज – बागलुङमा हालसम्म ४५ हजार ३९५ परिवार स्वास्थ्य बीमा कार्यक्रममा सूचीकृत भएका छन्। ती परिवारका एक लाख ४१ हजार ५०९ जना नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका स्वास्थ्य बीमा बोर्ड बागलुङका संयोजक नारायणप्रसाद पौडेलले जानकारी दिए।
स्वास्थ्य बीमा कार्यक्रम जिल्लामा विसं २०७३ असारदेखि लागू गरिएको हो। गत वर्ष एक लाख २६ हजार सदस्य रहेकोमा यस वर्ष १५ हजारले बढेर एक लाख ४१ हजार ५०९ पुगेको पौडेलले बताए। नौ वर्षयता बीमामा सहभागी हुनेको संख्या लगातार बढ्दै गएको छ।
हाल धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पताल स्वास्थ्य बीमाका प्रमुख सेवा केन्द्र (प्रथम सेवाविन्दु) रहेका छन्। माग बढ्दै गएपछि बडिगाड आधारभूत अस्पतालमा पनि बीमा सेवा विस्तार गरिएको छ।
पौडेलका अनुसार बीमामा आबद्धमध्ये ७४ हजार ६०२ महिला र ६६ हजार ९०३ पुरुष छन्। “स्वास्थ्य बीमामा आबद्ध भएपछि निःशुल्क एक लाख रुपैयाँसम्मको उपचार सुविधा पाइने भएकाले नागरिकको आकर्षण बढेको हो,” उनले भने, “यो वर्ष मात्र १६ हजार नयाँ नागरिक बीमामा सहभागी भएका छन्।”
दुई लाख ४९ हजार २११ जनसङ्ख्या भएको बागलुङमा हाल ५० प्रतिशतभन्दा बढी नागरिकले स्वास्थ्य बीमा गराइसकेका छन्। रोजगारीका लागि वैदेशिक पलायन बढे पनि जिल्लामा बसोबास गर्ने अधिकांशले बीमामा सहभागिता जनाएका पौडेलको भनाइ छ। कार्यक्रम अनुसार पाँच सदस्यसम्मको परिवारका लागि वार्षिक शुल्क रु ३,५०० तोकिएको छ।
पाँचभन्दा बढी सदस्य भएका परिवारका लागि भने प्रतिसदस्य रु ७०० का दरले शुल्क तिर्नुपर्छ। बीमामा सहभागी परिवारले सरकारी अस्पताल वा स्वास्थ्य चौकीमा वार्षिक रु एक लाखसम्म निःशुल्क उपचार सुविधा पाउँछन्। स्वास्थ्य बीमाप्रति विश्वास बढेसँगै अब बिरामीहरू निजी क्लिनिकभन्दा सरकारी अस्पतालमा उपचारका लागि बढी जाने प्रवृत्ति बढेको स्वास्थ्य बीमा दर्ता कर्मचारी सरिता शर्माले बताइन्।

