सामूहिक सयपत्री फूलखेतीमा महिलाको आकर्षण

तनहुँ, ३० असोज – तनहुँको म्याग्दे गाउँपालिकाका महिलाहरू सामूहिक रूपमा सयपत्री फूलखेतीमा लागेका छन्। गाउँपालिकाले उत्पादन प्रोत्साहनका लागि ७५ प्रतिशत अनुदान उपलब्ध गराएपछि स्थानीय महिलाहरू यस व्यवसायतर्फ आकर्षित भएका हुन्।

म्याग्दे–४ का महिलाहरू छिम्केश्वारास्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक समूहमा आबद्ध भई सयपत्री फूलखेती थालेका हुन्। यसअघि तरकारी र फलफूलखेतीमा सीमित रहेका उनीहरूले यस वर्ष पहिलो पटक सामूहिक रूपमा फूलखेती गरेका हुन्।

समूहकी अध्यक्ष जितमाया रानाले भनिन्, “पहिले अरूले फेसबुकमा सामूहिक खेती गरेको देख्थ्यौँ। हामीलाई पनि यस्तो खेती गर्ने इच्छा थियो। गाउँपालिकाका कृषि प्राविधिकसँग सल्लाह लिएपछि पहिलो पटक सयपत्री फूलखेती सुरु गरेका हौँ।”

२३ जना महिलाले छ रोपनी जग्गा भाडामा लिएर सयपत्री खेती गरेका छन्। यस वर्षको तिहारका लागि फूल उत्पादन भइसकेको रानाले जानकारी दिइन्। उनका अनुसार सयपत्री फूल प्रतिकिलो रु ३०० र प्रतिमाला रु १५० मा बिक्री हुने गरेको छ।

घरायसी काममा व्यस्त रहँदै आएका महिलाहरू फूलखेतीमा संलग्न भएपछि आत्मनिर्भर बन्न थालेका छन्। गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ का अनुसार गाउँपालिकाले विगत तीन वर्षदेखि ७५ प्रतिशत अनुदानका साथ सयपत्री फूलखेतीलाई प्रोत्साहन गर्दै आएको छ।

“स्थानीय महिलालाई उद्यमशील बनाउनका लागि पालिकाले सहयोग गरिरहेको छ,” उनले भने, “उत्पादन भएका फूल गाउँपालिकाका कार्यक्रम र तिहारलगायत चाडपर्वमा प्रयोग गरिने नीति अपनाएका छौँ, जसले बाहिरबाट फूल आयात गर्नुपर्ने आवश्यकता घटाउँछ।” गत वर्ष वडा नं. ६ र यस वर्ष वडा नं. ४ का महिलालाई अनुदान सहयोग गरिएको गाउँपालिकाले जनाएको छ।

Facebook Comments Box