कोप्चेबाट बराह क्षेत्रसम्मको जलयात्रा पुनः सञ्चालन

भोजपुर, २९ असोज – हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेबाट बराह क्षेत्रसम्मको जलयात्रा पुनः सञ्चालनमा आएको छ। गत असार महिनादेखि नदीमा पानीको बहाव बढेपछि रोकिएको मोटरबोट सेवा, अहिले पानी घटेसँगै पुनः सुरु गरिएको हो।

स्थानीय व्यवसायी मिलन राईका अनुसार, अहिले कोप्चेबाट बराह क्षेत्रसम्म जेटबोट नियमित चल्न थालेको छ र पानी अझ कम भएमा चतरा पुलसम्म पनि सञ्चालन सम्भव हुने सम्भावना छ। अरुण र दूधकोशी नदीमा पक्की पुल नहुँदा दक्षिणी भेगका बासिन्दालाई आवागमनमा समस्या हुँदै आएको थियो।

अब भने करीब १९ किलोमिटरको दूरी २०–२५ मिनेटमै पार गर्न सकिने भएको छ, जुन पहिले तीन–चार घण्टा पैदल हिँड्नुपर्थ्यो। कोप्चे–बराह क्षेत्रबीचको भाडा रु ५०० र चतरा पुग्न रु ७०० तोकिएको छ। स्थानीय लालबहादुर प्रधानका अनुसार, जेटबोट सञ्चालनले बिरामी परेका नागरिकलाई सहरका ठूला अस्पतालसम्म छिटो पुर्‍याउन सहजता भएको छ।

“चाडपर्वको समयमा यो सेवा विशेष रूपमा उपयोगी भएको छ,” प्रधानले भने, “पहिले भोजपुर सदरमुकाम हुँदै तराई पुग्न करिब २०० किलोमिटर यात्रा गर्नुपर्थ्यो, अहिले जलमार्गले त्यही दूरी धेरै छोट्याइदिएको छ।” गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जलयात्रालाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ पूर्वाधार विकासमा जोड दिइएको जानकारी दिनुभयो।

उहाँका अनुसार, यस जलमार्गले हतुवागढी क्षेत्र र तराईबीचको दुरी मात्र घटाउने होइन, स्थानीय पर्यटन र आर्थिक गतिविधिमा पनि टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

Facebook Comments Box