मतदाता नामावलीमा युवाको उत्साह, नयाँ पुस्ता मताधिकार प्रयोगमा सक्रिय

मोरङ, २८ असोज – आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनलाई लक्षित गर्दै युवा पुस्ता मतदाता नामावलीमा नाम दर्ता गर्न उत्साहित देखिएका छन्।

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन बाट प्रेरित नयाँ मतदाताहरूले आफ्नो मताधिकार सुनिश्चित गर्न नाम दर्ता अभियानमा सक्रियता देखाएका हुन्।

सरकारले अध्यादेशमार्फत मतदाता नामावलीमा दर्ताको समय थप गरेपछि प्रदेश निर्वाचन कार्यालय विराटनगरमा युवाको उपस्थिति उल्लेखनीय भएको छ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुने तय भएको छ भने निर्वाचन आयोगले प्रारम्भिक निर्वाचन तालिका पनि सार्वजनिक गरिसकेको छ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरमा भेटिएका अधिकांश युवाले पुराना राजनीतिक दल र नेताहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अब योग्य र नयाँ सोच भएका उम्मेदवारलाई अवसर दिन चाहेको बताएका छन्।

विराटनगर–१ का आयुष आचार्यले भने, “हामीले खोजेको सक्षम र इमानदार उम्मेदवारलाई मत दिनका लागि मतदाता परिचयपत्र बनाइरहेका छौं।”

त्यस्तै, विराटनगर–११ की जोत्सीना सापकोटाले भनिन्, “हाम्रो मतले चुनिएको व्यक्तिले देशका लागि गर्व गर्नलायक काम गरोस् भन्ने चाहना छ।”

प्रदेश निर्वाचन अधिकारी युवराज गुरागाईंका अनुसार सोमबारसम्म प्रदेश निर्वाचन कार्यालय विराटनगरमा एक हजार ५३० नयाँ मतदाताले नाम दर्ता गराइसकेका छन्। गत असोज १० गतेदेखि बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म दर्ता खुला रहेकामा दैनिक भीड लाग्ने गरेको छ।

गुरागाईंका अनुसार नाम दर्ता गराउनेमध्ये अधिकांश २५ वर्षभन्दा कम उमेरका युवाहरू रहेका छन्, जसले नयाँ पुस्ताको राजनीतिक सहभागिता उल्लेखनीय रूपमा बढेको संकेत दिएको छ।

Facebook Comments Box