तिहारका लागि मादल बनाउन भ्याइनभ्याइ
कञ्चनपुर, २८ असोज – तिहार नजिकिँदै गर्दा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ का रेशम वादी मादल बनाउने काममा व्यस्त छन्। सामान्यतया घरेलु जुत्ता उद्योग सञ्चालन गरेर जीविकोपार्जन गर्ने उनी दसैँ–तिहारको समयमा भने मादल बनाउने पुख्र्यौली पेसामा फर्किन्छन्।
नेपाली चाडपर्वमा विशेष महत्व राख्ने मादल देउसी–भैलो, नाचगान र सांस्कृतिक कार्यक्रमको प्रमुख बाजा भएकाले तिहार नजिकिँदै जाँदा यसको माग बढेको रेशम वादी बताउँछन्। “दसैँ र तिहारमा मादलको माग धेरै हुन्छ,” उनले भने, “तिहारमा मागअनुसार मादल पुर्याउनै सकिँदैन।” उनी अनुसार तिहारमा मादल बिक्रीबाट करिब ४० हजार रुपैयाँसम्म आम्दानी हुने गर्छ।
पहिले तीज पर्वमा पनि मादलको माग उच्च हुने गरेको भए पनि अहिले आधुनिक प्रविधिको प्रभावले त्यो घटेको छ। “अब त तिहारमै मात्रै खोजी हुन्छ,” वादी भन्छन्, “सानो मादल दुई हजारदेखि ठूलो १२ हजार रुपैयाँसम्म बिक्री हुन्छ।” वाद्यवादनका सामग्री बनाउनु वादी समुदायको परम्परागत पेसा हो। तर पछिल्ला वर्षमा कच्चा पदार्थ—विशेष गरी छाला र खमारी काठ—नपाइँदा यो पेसा संकटमा परेको दोधारा चाँदनी–३ का वादीहरूको भनाइ छ।
“हाम्रा बाजे–बुबा वाद्यवादन बनाएर जीविकोपार्जन गर्नुहुन्थ्यो,” रेशम वादी भन्छन्, “अहिले चाहिँ कच्चा पदार्थ नपाएर नयाँ मादल बनाउनेभन्दा पनि मर्मतका काम बढी हुन्छ।” मादलमा बाख्राको छाला प्रयोग हुन्छ। छिमेकी भारतका बजारमा छाला उपलब्ध भए पनि सीमानाकामा ल्याउन रोक लगाइने भएकाले समस्या हुने उनी बताउँछन्।
“यहाँ बाख्राको छाला सजिलै पाइँदैन,” उनी भन्छन्, “भारतमा एक छालाको मूल्य करिब हजार रुपैयाँ पर्छ, तर नाकाबाट ल्याउन पाइँदैन।” वादी समुदायको मुख्य पेसा मादल, ढोलक र दामाहा बनाउने तथा विभिन्न पर्वमा नाचगान गरेर जीविकोपार्जन गर्ने हो। तर, बढ्दो आधुनिकता र कच्चा पदार्थको अभावले उनीहरूको पुख्र्यौली सीप र पेसा दुवै संकटमा परेका छन्।

