भोजपुरमा ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ हुने

भोजपुर, २८ असोज – भोजपुरका तीन स्थानीय तहले संयुक्त रूपमा ‘मुन्दुम पदमार्ग अल्ट्रा ट्रेल रेस’ आयोजना गर्ने भएका छन्। रामप्रसाद राई, हतुवागढी र आमचोक गाउँपालिकाले मुन्दुम पदमार्गको प्रचारप्रसार र साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित यो प्रतियोगिता आयोजना गर्न लागेका हुन्।

आगामी मङ्सिर २० देखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताबारे सोमबार आमचोक गाउँपालिकाको आयोजनामा बालङखामा बसेको संयुक्त बैठकमा जानकारी दिइएको थियो। हतुवागढी–९ कोप्चेबाट सुरु हुने रेस आमचोकको बयाङ–थामडाँडा हुँदै रामप्रसादराई गाउँपालिकाको पामखाङ–भञ्ज्याङ–कपासे–सेल्मे–पाँचधारे–तावाभञ्ज्याङसम्म करिब ६५ किलोमिटर दुरीमा सञ्चालन हुने हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए।

उनका अनुसार, प्रतियोगिता सुरक्षित, प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्न तीनै गाउँपालिकाबीच विस्तृत कार्ययोजना तयार गरिएको छ। रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईका अनुसार, प्रतियोगिताको उद्देश्य पर्यटन र खेलकुदलाई एकीकृत गर्दै सामुदायिक तथा साहसिक पर्यटन विकास गर्नु हो।

आमचोक गाउँपालिका अध्यक्ष अशोक राईले भने, प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका धावकहरूको सहभागिता रहने बताए। उनका अनुसार, यो प्रतियोगिताले भोजपुरको मौलिक संस्कृति, स्थानीय परिकार र पहिचानलाई देश–विदेशमा चिनाउने अवसर दिनेछ।

प्रतियोगिता सञ्चालनका लागि तीनै गाउँपालिकाले रु ५÷५ लाखका दरले जम्मा रु १५ लाख बजेट विनियोजन गरेका छन्। हाल ग्रेटर मुन्दुम पदमार्गअन्तर्गत तीनै गाउँपालिकामा पदमार्ग निर्माण कार्य भइरहेको छ। स्थानीय तहहरूका अनुसार, यो पदमार्ग र प्रतियोगिता मिलेर भोजपुरलाई भविष्यमा साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास लिएको छ।

Facebook Comments Box