मातृभाषा पत्रकारिता कमजोर बन्दै गएकोप्रति सरोकारवालाको चिन्ता

काठमाडौँ, १ भदौ – मातृभाषाका सञ्चारमाध्यमहरूको अवस्था कमजोर बन्दै गएकोप्रति सरोकारवालाले चासो व्यक्त गरेका छन् । यस्ता सञ्चारमाध्यम र मातृभाषा पत्रकारिताको प्रवद्र्धनमा राज्यबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेको उनीहरूको गुनासो छ ।

तामाङ पत्रकार संघले २७ औं तामाङ प्रसारण दिवसको अवसरमा आयोजना गरेको ‘भर्चुअल’ अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले यस्तो गुणासो गरेका हुन् । ‘मातृभाषाका सञ्चारमाध्यमहरूलाई प्रवद्र्धन गर्न विशेष नीति ल्याउनुपर्ने माग गर्दै आएका छौं तर पर्याप्त नीतिगत व्यवस्था गर्न राज्यको ध्यान पुगेको छैन,’ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष डण्ड गुरुङले भने, ‘यो राज्यको दायित्व भए पनि पूरा गरिरहेको छैन ।’

मातृभाषा पत्रकारितालाई प्रवद्र्धन गर्नका लागि आवश्यक नीति बनाउन दबाब सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले यसमा सामूहिक प्रयास हुनुपर्ने बताए । सरकारी सञ्चारमाध्यममा मातृभाषालाई केही स्थान प्रदान गरिए पनि त्यो पर्याप्त नभएको उनले बताए । मातृभाषा पत्रकारिताको प्रवद्र्धनमा सम्बन्धित समुदायले समेत प्रभावकारी भूमिका खेल्न नसकेको अध्यक्ष गुरुङको भनाइ थियो ।

‘नीतिगत रूपमा सुधार नगरेसम्म हाम्रा सवालहरू सम्बोधन हुन सक्दैन । त्यसैले हामीले त्यसका निम्ति सामूहिक रूपमा प्रयास गर्न जरूरी छ । समुदायले पनि यसमा अग्रसरता लिनुपर्छ,’ अध्यक्ष गुरुङले भने । लगानी अभावले पनि समुदाय केन्द्रित सञ्चारमाध्यमको अवस्था कमजोर बन्न पुगेको उनले बताए ।

कार्यक्रममा ‘आदिवासी तामाङ पत्रकारिता ः हिजो, आज र भोलि’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ पत्रकार कुमार यात्रु तामाङले आदिवासी जनजातिहरूको प्रथाजनित सञ्चारमाध्यमको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले तामाङ पत्रकारहरूले उठाउनुपर्ने विषयहरूको बारेमा विस्तृत रूपमा जानकारी दिएका थिए ।

‘हाम्रो परम्परागत तथा प्रथाजनित विषयहरू लोप हुँदै गएका छन् । परम्परागत सञ्चार प्रणाली, उपचारपद्धतिलगायत संस्कारजन्य कुराहरूको बारेमा कलम चलाउन जरुरी छ,’ उनले भने, ‘मुलधारका सञ्चारमाध्यमले नसमेट्ने विषयहरू हामीले आफ्नै मिडिया स्थापना गरेर प्रचारप्रसारमा ल्याउन जरुरी छ ।’

आदिवासी समुदाय केन्द्रित केही सञ्चारमाध्यम सञ्चालनमा आए पनि पर्याप्त नभएको उनले बताए । यस्ता सञ्चारमाध्यमले निरन्तरता पाउन नसक्नु नै प्रमुख चुनौती रहेको उनले औंल्याएका थिए ।

नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले मूलधारका सञ्चारमाध्यमले तामाङ समुदायको सवाललाई स्थान नदिने भएकाले समुदाय केन्द्रित सञ्चारमाध्यमलाई नै प्रभावकारी रूपमा अगाडि बढाउन जरूरी रहेको बताए । यसका लागि तामाङ सञ्चारकर्मीहरूले संस्थागत रूपमा अगाडि बढाउने कार्यक्रममा घेदुङको साथ रहने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सञ्चु ब्लोनले मातृभाषा पत्रकारितामा निरन्तरताको चुनौती रहेको बताइन् । उनले मातृभाषा पत्रकारितामा आकर्षण घट्नुको मुख्य कारण आर्थिक रहेको बताउँदै यस क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूलाई व्यावसायिक बनाउँदै लैजानुपर्नेमा जोड दिइन् । मातृभाषा पत्रकारिता कमजोर हुँदै जाँदा समुदायको आवाजलाई बाहिर ल्याउन र समाजमा रहेका भाषिक, सांस्कृतिक विषयहरूको संरक्षण गर्न चुनौती हुने उनको भनाइ थियो ।

तामाङ पत्रकार संघका पूर्वअध्यक्ष प्रतीक तामाङले तामाङ प्रसारण सुरू भएको २७ वर्षमा के कस्ता उपलब्धि भए भन्नेबारे गहन समीक्षा हुनुपर्ने बताए । तामाङ पत्रकारहरूलाई व्यावसायिक बनाउँदै भाषिक तथा समुदाय केन्द्रित पत्रकारिताको समेत प्रवद्र्धन गर्न संस्थागत रूपमा अझ प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने उनले औंल्याए ।

संघका अध्यक्ष विष्णु तामाङले कोरोना महामारीका कारण भौतिक रूपमा कार्यक्रम आयोजना गर्न नसकिएको जानकारी दिए । उनले ‘भर्चुअल’ कार्यक्रममार्फत् तामाङ पत्रकारिता तथा समुदायका विभिन्न विषयमा अन्तरक्रिया गर्ने क्रमलाई निरन्तरता दिने जानकारी दिए ।

२०५१ भदौ १ गते रेडियो नेपालबाट पहिलोपटक तामाङ भाषामा समाचार प्रसारण भएको दिनलाई तामाङ समुदायले तामाङ प्रसारण दिवसको रूपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा तामाङ पत्रकार संघले प्रत्येक वर्ष कार्यक्रम गर्दै आएको छ । संघका विभिन्न जिल्ला शाखाहरूले समेत कार्यक्रमसहित प्रसारण दिवस मनाएको संघले जानकारी दिएको छ ।

Facebook Comments Box