फेमे खोलामा ‘डाइभर्सन’ निर्माण हुँदै

पाँचथर, २७ असोज – पाँचथरको फिदिम–फालोट सडकअन्तर्गत फेमे खोलामा अस्थायी ‘डाइभर्सन’ निर्माण कार्य तीव्रगतिमा भइरहेको छ। गत असोज १८ गते आएको बाढीले स्थायी डाइभर्सन बगाएपछि सो सडक अवरुद्ध भएको थियो।

पूर्वाधार विकास कार्यालय पाँचथरका इञ्जिनियर मुकेश शाहका अनुसार फिदिम नगरपालिका–१ र ११ को सीमामा पर्ने फेमे खोलामा २० वटा ह्युमपाइप जडान गरी नयाँ डाइभर्सन निर्माण भइरहेको हो। “डाइभर्सन र पहुँचमार्ग निर्माण सोमबारसम्म सक्ने योजना छ,” शाहले बताउनुभयो।

यो सडकखण्डले फिदिम नगरपालिका–१० देखि १३ वडा र फालेलुङ गाउँपालिका–३ देखि ८ वडा सम्म सदरमुकाम जोड्ने भएकाले आवागमन पुनःस्थापना अत्यावश्यक रहेको बताइएको छ। हाल खोलाको दुवैतर्फ सवारीसाधन यात्रुलाई गन्तव्यसम्म पुर्‍याउने गरेका छन्, र यात्रुले करिब १५ मिनेट पैदलयात्रा गरेर खोला पार गर्नुपरेको छ।

गत वर्षको असोज १२ गतेको बाढीले यहाँको स्थायी पुल बगाएको थियो। त्यसपछि अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएकोमा गत जेठमा स्थायी डाइभर्सन निर्माण गरिएको थियो, तर पुनः असोज १८ गतेको बाढीले त्यसलाई समेत बगाएको हो।

फेमे खोलामा नयाँ बेलिब्रिज जडानको प्रक्रिया अघि बढाइए पनि बजेट अभावका कारण काम अघि बढ्न नसकेको कार्यालयले जनाएको छ। यसबीच, नेपाली सेनाको फिदिमस्थित वीरदल गणले यात्रु आवतजावतका लागि फड्के (अस्थायी डोरी पुल) निर्माण गरेको छ। यद्यपि, यसले सामग्री ढुवानी, बिरामी, असक्त र स्थानीय उत्पादनको निकासीमा कठिनाइ भएको फिदिम–११ का लोकबहादुर बुढाथोकीले बताउनुभयो।

Facebook Comments Box