तोरीपानीका पाँच घरमा ‘होमस्टे’ सञ्चालन
म्याग्दी, २६ असोज – बेनी नगरपालिका–९ तोरीपानीमा अब पर्यटकका लागि घरबास (होमस्टे) सेवा सुरु गरिएको छ। स्थानीय आयआर्जन वृद्धि, रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनका उद्देश्यसहित पहिलो चरणमा पाँच घरमा २१ जना पाहुना राख्न सकिने क्षमतासहित घरबास सञ्चालन गरिएको हो।
घरबास समूहकी अध्यक्ष सीता खत्रीका अनुसार पाहुनाका लागि कोठा र शौचालयलगायत पूर्वाधार तयार भइसकेका छन्। उहाँले भन्नुभयो, “इको हिमालय संस्थाले करिब रु छ लाख मूल्यबराबरका बेड, विस्तारा र सरसफाइ सामग्री सहयोग गरेको छ।” पहिलो चरणमा जुना खत्री, रश्मी चोखाल, सुजना चोखाल, युव गिरी र जमुना क्षेत्रीका घरमा होमस्टे सुरु भएको छ। समूहले दर्ता प्रक्रिया पूरा गरिसकेको र दोस्रो चरणमा थप घर समावेश गर्ने तयारी भइरहेको बताइएको छ।
समुद्री सतहदेखि १,७५० मिटर उचाइमा रहेको तोरीपानीबाट धवलागिरि र अन्नपूर्ण हिमालको मनोरम दृश्य देखिन्छ। मसलेदार फल टिमुर खेतीका लागि प्रसिद्ध यस गाउँको शिरमा टोड्के, ढोलथान दरबार र पछै मन्दिरजस्ता आकर्षक स्थल छन्। बेनीदेखि नेप्टेचौर हुँदै तोरीपानी जोड्ने सडक गण्डकी प्रदेश सरकारमार्फत कालोपत्रसहित स्तरोन्नतिका क्रममा छ भने ढोलथान दरबारतर्फ जाने मार्ग पनि संघीय र स्थानीय सरकारको योजनामा समावेश छ।
तोरीपानी हँुदै बेनी नगरपालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा अवस्थित टोड्के पुग्न पैदल वा सवारी दुवैबाट पुग्न सकिने भएकाले यो क्षेत्र परिवारसहित घुम्न चाहने पाहुनाका लागि आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ।वडाध्यक्ष चक्र केसीले घरबास सञ्चालनले पर्यटन प्रवर्द्धनसँगै रोजगारी र स्थानीय आम्दानीमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

