‘बहुभाषिक कविगोष्ठीले नेपाली मौलिकताको अनुहार झल्कियो’

काठमाडौँ, २६ असोज — नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले बहुभाषिक कविगोष्ठीले नेपालको मौलिकता र सांस्कृतिक विविधता झल्काएको बताउनुभएको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को २२औँ स्थापना दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा र एनआरएनए भाषा–साहित्य समितिको सहकार्यमा आयोजित “साहित्यिक गोष्ठी तथा बहुभाषिक सिर्जना वाचन” कार्यक्रममा बोल्दै कुलपति राईले नेपालका सबै भाषाको प्रतिनिधित्वसहित गरिएको कविता वाचनले देशको सांस्कृतिक बहुलता र मौलिक पहिचान उजागर भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “संसारभर छरिएका नेपालीहरूले आफ्नो भाषा, साहित्य र संस्कृतिलाई विस्तार गरिरहेका छन्। यस किसिमका बहुभाषिक प्रयासहरूले नेपाललाई साँच्चै समान रूपमा समृद्ध बनाउन सक्नेछन्।” उहाँका अनुसार अब प्रज्ञा–प्रतिष्ठान एकल भाषिक केन्द्र होइन, बहुभाषिक प्राज्ञिक संस्थाको रूपमा अघि बढिरहेको छ।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले एनआरएनएसँग सहकार्य गर्दै नेपाली भाषा र साहित्यको विकासमा सँगै अघि बढ्न सकिने बताउनुभयो। प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा विभागका प्रमुख राजन मुकारुङले मुलुकको सञ्चालन र राष्ट्रिय समृद्धिका लागि सबै भाषालाई समान सम्मान र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो।

गैरआवासीय नेपाली सङ्घका अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेशकुमार श्रेष्ठले विदेशमा रहेका नेपाली सन्तानलाई नेपाली भाषा, साहित्य र संस्कृतिप्रति आकर्षित गराउनुपर्ने उल्लेख गर्दै भाषा, संस्कृति र साहित्य जोगाउन सके मात्र सभ्यता र इतिहास सुरक्षित रहन्छ भन्नुभयो। पूर्व महासचिव जानकी गुरुङले पनि जहाँ भए पनि नेपालप्रतिको माया र मातृभाषाप्रतिको प्रेम कहिल्यै कम नहुने बताउनुभयो।

कार्यक्रममा एनआरएनए महिला संयोजक रश्मीकाली थापा, उपाध्यक्ष तथा भाषा–साहित्य समितिका संयोजक विश्वासदीप तिगेला, र समितिका सदस्य तथा कवि अमित थेबेलगायतले नेपाल बहुभाषिक देश भएकाले सबै भाषाको समान हैसियत कायम राख्न यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।

‘बहुभाषिक सिर्जना वाचन’ कार्यक्रममा नेपाली, विभिन्न मातृभाषा र अंग्रेजी गरी ५९ जना कविहरूले आफ्ना कविता वाचन गर्नुभएको थियो। नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले नेपालीमा र जनक रसिकले डोट्याली भाषामा कविता वाचन गर्नुभएको थियो।

कार्यक्रममा प्रा. डा. गोविन्दमान सिंह कार्की, विश्वासदीप तिगेला, मनोज न्यौपाने, स्वप्निल स्मृति, रमेश पौडेल, विमला तुम्खेवा, सन्ध्या पहाडी, मणिराज सिंह, देवेन्द्र सुर्केली, अमित थेबे, जनार्दन अधिकारी ‘धड्कन’, तीर्थराज भट्ट, सङ्गीता काली, मिथोच सुनुवार, विशाल नाल्बो, मिमबहादुर परियार, सोझो गाउँले, निरन्ती तुम्बापो लगायतका कविहरूले नेपाली भाषामा कविता वाचन गर्नुभयो।

त्यस्तै, मातृभाषाका कविहरू अञ्जु राजवंशी, ओमकृष्ण श्रेष्ठ, जगत् वशिष्ठ, गणेश वाम्बुले राई, डम्बर थामी, निशेष आङ्देम्बे, पदम बालाहाङ राई, पेम्बा गेलु शेर्पा, भूमिका थारु, राकेशबहादुर बुढा मगर, आलोक तिवारी, शर्मिला राना थारु, शोभा सुनुवार, रचना मोक्तान तामाङ, स्नेहा झा, मनु ठाडा मगर, रितेश त्रिपाठी, प्रगति राई, विमला गुरुङ, प्रकृति थारू, शिलाखा वाम्बुले राई, निरा श्रेष्ठलगायतले पनि आफ्ना कविता वाचन गर्नुभएको थियो।

Facebook Comments Box