अझै खुलेन मेची राजमार्ग
इलाम, २६ असोज – असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। इलाम नगरपालिका–९ अन्तर्गत इलाम–राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि यातायात पूर्णरूपमा रोकिएको हो। सडक डिभिजन इलाम, स्थानीयवासी र सुरक्षाकर्मीले एक सातादेखि निरन्तर पहिरो हटाउने प्रयास गरिरहेका छन् तर सडक अझै खुल्न सकेको छैन।
सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईका अनुसार “सिङ्गो डाँडा नै भासिएकाले सडक सञ्चालनमा ठूलो कठिनाइ आएको” हो। उनका अनुसार तीनवटा एस्काभेटर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको छ। सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले मर्मतकार्य पूरा नभएसम्म सुरक्षित आवागमनका लागि राजमार्ग सञ्चालनमा रोक लगाइएको बताउनुभयो। उहाँका अनुसार “मर्मत सम्पन्न भएपछि मात्र सडक पूर्ण रूपमा सञ्चालन हुनेछ।”
राजमार्गको राजदुवाली र इलाम–नेपालटार सडकखण्डको मिलगोलाई क्षेत्रमा ठूलो क्षति पुगेको छ। मिलगोलाईको अवरोध हटाएपछि पाँचथर र ताप्लेजुङतर्फको सवारी सञ्चालन आंशिक रूपमा सुचारु भएको भए पनि राजदुवाली पहिरो खसेकाले इलाम, पाँचथर, ताप्लेजुङ र झापाका यात्रुहरू अझै प्रभावित छन्।
झापाबाट फिक्कल हुँदै माईखोलासम्म सवारी सञ्चालनमा भए पनि राजदुवालीसम्मको सडक अवरुद्ध छ। यात्रुहरूले माईखोला र राजदुवालीबीचको करिब डेढ किलोमिटर दूरी पैदल पार गर्नुपर्ने बाध्यता छ। बिरामी र ज्येष्ठ नागरिकलाई भने सुरक्षाकर्मीहरूले स्टेचरमार्फत सहयोग गर्दै यातायात स्थलसम्म पुर्याइरहेका छन्।
वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) पनि बाढीपहिरोका कारण अवरुद्ध भएको छ। पुवाखोला र तिल्केनी–सिमलगोलाई सडकखण्डअन्तर्गत जोगमाई खोलाको बेलीब्रिज बगाएपछि इलामबाट झापा झर्ने कुनै सडक खुलेको छैन।
हाल बाढीपहिरोका कारण इलाम जिल्लाका १० स्थानीय तहमध्ये पाँच पालिका सदरमुकामसँग सडक सञ्जालबाट विच्छेद भएका छन्। राजदुवाली सडकखण्ड, बेलासे र देउमाई पुल, तथा जोगमाई खोलाको बेलीब्रिज बगाउँदा सूर्योदय, माई, माङसेबुङ, माईजोगमाई र फाकफोकथुम गाउँपालिकामा यातायात आवागमन ठप्प भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
हालसम्मको विवरणअनुसार जिल्लाभर १९ पक्की पुल, दुई बेलीब्रिज, ११ कल्भर्ट र तीन झोलुङ्गे पुलमा क्षति पुगेको छ। बाढीपहिरोबाट ३९ जनाको मृत्यु, २६ जना घाइते र एक जना बेपत्ता भएका छन्। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार दुई सय ७६ परिवार विस्थापित भएका छन् भने १५१ घर पूर्णरूपमा र ३२७ घर आंशिक रूपमा क्षतिग्रस्त छन्।

