सडक अवरुद्ध हुँदा जलजला पुग्न सकेनन् पर्यटक
बागलुङ, २४ असोज – यस वर्ष लामो वर्षा र सडक अवरुद्ध भएपछि दसैँको समयमा पर्यटक जलजला पुग्न सकेका छैनन्। ढोरपाटन उपत्यका र बुकीपाटनबाट आएका पर्यटकहरू बाटो बन्द हुँदा बीचमै फर्किनुपरेको स्थानीय होटल व्यवसायीहरूले बताएका छन्। नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनभित्र पर्ने जलजला बागलुङ र म्याग्दी दुबै जिल्लाबाट पुगिने पर्यटकीय गन्तव्य हो।
यहाँबाट धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायत दर्जनौँ हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ। ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनका अनुसार यस वर्ष निरन्तर वर्षाका कारण बाटो बिग्रिएको र गाठेसाँघु हाल्न नसकिएकाले पर्यटक जलजला पुग्न नसकेका हुन्।
“गत वर्षदेखि जलजला जाने पर्यटकको भीड बढेको थियो,” उनले भने, “तर यसपालि लामो वर्षाका कारण बाटो भत्किएर साँघु हाल्न पाएका छैनौँ, अब केही दिनमै मर्मत गरेर तिहारसम्म बाटो खुलाउने तयारी छ।” गत वर्ष बर्खाले बगाएको गुरुघाट र गुर्जाघाटका काठका साँघु अझै पुनःस्थापना नभएकाले आवागमन अवरुद्ध भएको हो। म्याग्दीको धवलागिरि गाउँपालिकाको मरेनी सडक पनि बिग्रिएको हुँदा यातायात सञ्चालन हुन सकेको छैन।
अहिले दैनिक एक सयजति पर्यटक ढोरपाटनमा आउँदै आएका छन्। तर जलजला पुग्न नपाउँदा उनीहरू असन्तुष्ट बनेका छन्। दाङका पर्यटक रावल रोकायाले भने, “जलजलाको हिमशृङ्खला हेर्न आएको थिएँ, तर सडक नखुलेपछि जान पाएनँ, अब अर्को पटक फेरी आउनेछु।”
समुद्री सतहदेखि करिब ३,४०० मिटर उचाइमा अवस्थित जलजलाबाट धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, गुर्जा, पुथा, चुरेन लगायत दुई दर्जनभन्दा बढी हिमाल एकैसाथ देखिने भएकाले यहाँको पर्यटन सम्भावना उच्च मानिन्छ।

