कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

पाटन (ललितपुर), २३ असोज — आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ। पार्टी उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको आजको बैठकमा पदाधिकारीहरूले धारणा राख्ने क्रम नसकिएकाले बैठक स्थगित गरी भोलि पुनः बस्ने निर्णय गरिएको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो।

डा. महतका अनुसार बैठकमा वर्तमान राजनीतिक परिस्थितिले सिर्जना गरेको चुनौती र त्यसले पार्टी तथा देशमा पारेको प्रभावबारे गम्भीर छलफल भइरहेको छ।

“वर्तमान परिवेशमा भएको घटनाक्रमले खडा गरेको राजनीतिक चुनौती र पार्टीप्रतिको चुनौतीलाई जोगाउँदै देशलाई जोगाउने विषयमा छलफल जारी छ,” उहाँले भन्नुभयो, “पार्टीलाई विशेष परिस्थितिमा कसरी अघि बढाउने भन्ने विषयमा विचार–विमर्श भइरहेको छ। पदाधिकारीहरूले बोल्ने क्रम भोलि पनि जारी रहनेछ।”

उहाँले मंसिरभित्रै नियमित अधिवेशन सम्पन्न गर्न सकिने सम्भावनाबारे पनि छलफल भइरहेको उल्लेख गर्नुभयो। डा. महतले भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा नेता, व्यवसायी तथा सर्वसाधारणको निजी सम्पत्तिसँगै राष्ट्रिय सम्पत्तिमा गरिएको आगजनीप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो।

“अराजकतालाई कारबाही नगर्दा पुँजी पलायन हुने खतरा बढेको छ,” उहाँले भन्नुभयो, “नेताहरूको घर जलाइएको छ, किसुनजीको आश्रम जलाइएको छ — यी सबै लोकतान्त्रिक मूल्य–मान्यतालाई सिध्याउने षड्यन्त्र हुन्।”

उहाँले आन्दोलनका क्रममा गोली चलाउनेको पहिचान गरी कारबाही हुनुपर्ने माग गर्नुभयो। त्यसैगरी, निर्वाचनका लागि कांग्रेस सधैं तयार रहेको उल्लेख गर्दै डा. महतले विश्वसनीय र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सरकारले आवश्यक गम्भीरता देखाउनुपर्ने बताउनुभयो।

“यदि सरकारले निर्वाचनमा विश्वासको वातावरण सिर्जना गर्न सकेन भने संसद् पुनःस्थापनाको विकल्प पनि विचार गर्नुपर्ने स्थिति आउन सक्छ,” उहाँले भन्नुभयो।

Facebook Comments Box