‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानमा ४३६ जनाले लिए निःशुल्क यातायात सेवा
खोटाङ, २४ असोज – खोटाङका युवाहरूले चाडपर्वका अवसरमा सञ्चालन गरेको ‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत यस वर्ष ४३६ जना छोरीचेलीले निःशुल्क यातायात सेवा पाएका छन्। नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईको अगुवाइमा सञ्चालन भएको अभियानमा जिल्लाका दशवटै स्थानीय तहका युवाहरूले आफ्नै मोटरसाइकलमार्फत छोरीचेलीलाई घर, माइतीघर र मावलीघरसम्म लैजाने तथा फर्काउने सेवा उपलब्ध गराएका हुन्।
आर्थिक अवस्था कमजोर भएका र दुर्गम स्थानमा सार्वजनिक यातायात नपुगेका महिलालाई लक्षित गरी असोज १६ देखि १९ गतेसम्म सेवा दिइएको थियो। अभियानका क्रममा ३५ किलोमिटर भित्रका सडकखण्डमा ६६ वटा मोटरसाइकल र शुभम् फाउन्डेसनको एक जीप प्रयोग गरिएको थियो। दिक्तेल बजारबाट मात्रै २०५ जनाले मोटरसाइकल र ९० जनाले जीपमार्फत सेवा लिएका थिए।
हलेसी बजारमा २३, बाक्सिला बजारमा ७५, दिप्रुङ चुइचुम्मामा २१ र रावाबेँसीमा २२ जनाले सेवा पाएका थिए। संयोजक राईका अनुसार बर्खायाम र पहाडी सडकका कारण सार्वजनिक यातायात नपुगेपछि चेलीहरूलाई गन्तव्यसम्म सुरक्षित र निःशुल्क रूपमा पु-याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। “बिनास्वार्थ सहयोगको भावनाले यो अभियान चलाएका हौँ,” उनले भने, “अब तिहारका लागि पनि कात्तिक ५ देखि ७ गतेसम्म यही अभियान सञ्चालन गर्ने योजना छ।”
यस वर्षको अभियानका लागि दिक्तेल बजारस्थित किरातचोकमा सचिवालय स्थापना गरी सेवाग्राहीको विवरण सङ्कलन गरिएको थियो। सचिवालय सदस्य अनिशा रम्तेलका अनुसार कमजोर आर्थिक अवस्था भएका महिलालाई प्राथमिकताका साथ सेवा दिइएको थियो। गत वर्ष पनि यसै समूहले ४१५ जना छोरीचेलीलाई निःशुल्क यातायात सेवा उपलब्ध गराएको थियो।

