मनसुन क्रमश कमजोर हुँदै
काठमाडौँ, २२ असोजः मनसुन क्रमशः कमजोर हुँदै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा पश्चिमी वायुको प्रभाव रहँदा गण्डकी प्रदेशका पश्चिमी भागमा पनि आंशिक प्रभाव देखिएको छ। बाँकी प्रदेशहरूमा भने मनसुनी र स्थानीय वायुको कमजोर प्रभाव मात्र कायम रहेको छ।
आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै देशका पहाडी भागहरूमा सामान्यतया बदली रहने विभागले जनाएको छ। तराईका अधिकांश भागमा आंशिक बदली रहने र कोशी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागको पूर्वानुमान छ।
आज राति कोशी र मधेस प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ। त्यसैगरी, कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना पनि विभागले आज बिहान जारी गरेको दैनिक मौसम बुलेटिनमार्फत जनाएको छ।

