बाढीपहिरो प्रभावित जिल्लामा स्वास्थ्य सेवा सहज तुल्याउने प्रयासमा कोशी प्रदेश सरकार

विराटनगर, २२ असोज – कोशी प्रदेश सरकारले हालैका बाढीपहिरोबाट प्रभावित जिल्लाहरूमा स्वास्थ्य सेवा सहज बनाउने उद्देश्यले चिकित्सक टोली परिचालन गर्ने भएको छ। प्रदेशभरका प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य अवस्था सुधार गर्न आजदेखि औपचारिक रूपमा टोलीहरू प्रस्थान गर्दै छन्।

प्रादेशिक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा स्वास्थ्य निर्देशनालय र आपूर्ति व्यवस्थापन विभागका प्रतिनिधि तथा चिकित्सक समावेश तीनवटा टोली आज बिहानै इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र उदयपुरका लागि प्रस्थान गर्ने तयारीमा छन्।

मन्त्रालयका सूचना अधिकारी डा. केनीन राईका अनुसार, टोलीहरूले प्रभावित क्षेत्रमा पुगेर बाढीपहिरोपछि देखिन सक्ने महामारी तथा किटजन्य रोगबाट जोगिन जनचेतना फैलाउने र स्थानीय पीडितका स्वास्थ्य समस्या पहिचान गर्नेछन्। आवश्यकता अनुसार तत्काल उपचार र औषधि सहयोग पनि उपलब्ध गराइने छ। त्यससँगै टोलीले बाढीपहिरोले पुर्‍याएको क्षति तथा स्वास्थ्य संस्थाको अवस्थासमेत स्थलगत रुपमा मूल्यांकन गरी प्रतिवेदन मन्त्रालयमा पेश गर्ने बताइएको छ।

Facebook Comments Box