कोशी प्रदेशमा बाढी–पहिरोले ४९ जनाको मृत्यु, ६ हजारभन्दा बढी परिवार विस्थापित
विराटनगर, १९ असोज – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण कोशी प्रदेशमा मृत्यु हुनेको संख्या ४९ पुगेको छ भने १७ जना घाइते भएका छन् । प्रहरीका अनुसार देशभर बाढी र पहिरोमा परी हालसम्म ५२ जनाको मृत्यु भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सबैभन्दा बढी मानवीय क्षति इलाममा भएको छ, जहाँ मात्र ३७ जनाको मृत्यु भएको छ । तीमध्ये १३ जना पुरुष, १४ जना महिला, ३ जना बालक र ७ जना बालिका छन् । इलाममा एक जना पुरुष अझै बेपत्ता रहेका छन् ।
पाँचथरमा २ जना, उदयपुरमा २ जना, खोटाङमा २ जना र मोरङमा १ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । झापामा पनि एक जना पुरुषको शव फेला परेको छ । शनिबारको विभिन्न दुर्घटनामा थप ६ जनाको मृत्यु भएको थियो ।
बाढी–पहिरोका कारण ६ हजारभन्दा बढी परिवार विस्थापित भएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार झापामा मात्र ५ हजार ४२५ घरपरिवार विस्थापित भएका छन् । मोरङमा ३८६, सुनसरीमा ४५, धनकुटामा ६, उदयपुरमा ३ र खोटाङमा ३ घरपरिवार विस्थापित भएका छन् ।

