राजमार्गका यात्रु प्रतीक्षालय रङ्ग्याउँदै झलारीका युवा
कञ्चनपुर, १६ असोज – शुक्लाफाँटा नगरपालिका–१० झलारीका युवाहरूले दसैँलाई लक्षित गर्दै यात्रु प्रतीक्षालय रङरोगन गर्ने अभियान सुरु गरेका छन् । स्थानीय व्यवसायी तथा सर्वसाधारणबाट रङ र आर्थिक सहयोग संकलन गरेर उनीहरूले प्रतीक्षालयलाई चिटिक्क पार्ने काममा हात हालेका हुन् ।
वर्षौँदेखि जीर्ण अवस्थामा रहेका प्रतीक्षालयलाई रंगिन र आकर्षक बनाउन पहल गरिएको समाजसेवी जेनल विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “समाजको समृद्धि साझेदारी र सहकार्यले मात्र सम्भव हुन्छ । त्यसैले साथीभाइसँग केवल रमाइलो गर्नुभन्दा समाजका लागि केही सिर्जनशील काम गरौँ भन्ने सोचका साथ हामीले यो अभियान थालेका हौँ ।”
झलारीको नयाँ यात्रु प्रतीक्षालयमा पनि रङरोगन गरिएको छ भने यसलाई दसैँपछि निरन्तरता दिइने योजना रहेको विष्टले बताए । उहाँका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत नगरपालिकाभित्र रहेका अन्य प्रतीक्षालयलाई समेत क्रमशः रङरोगन र मर्मत गरिनेछ ।
यस अभियानमा स्थानीय व्यवसायी र वन समितिको सक्रिय साथ रहेको छ । युवाहरूले प्रतीक्षालय मात्र नभई बजार, धार्मिक स्थल तथा विद्यालय वरिपरिको सरसफाइ अभियानमा पनि निरन्तर सहभागिता जनाउँदै आएका छन् ।
शुक्लाफाँटा नगरपालिकाका पूर्वनगर प्रमुख दिलबहादुर ऐरले युवाहरूले दसैँको अवसरलाई सदुपयोग गर्दै समाजका लागि उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो ।

