आश्विन शुक्ल सप्तमी : कालरात्रि देवीको पूजा आराधना, घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ, १३ असोज – वडादसैँ अर्थात् नवरात्रको आठौँ दिन आज नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना हुँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष चौथी तिथि वृद्धि भएकाले सप्तमी पूजा आठौँ दिनमा परेको हो।

धार्मिक मान्यताअनुसार प्राणीमात्रलाई नष्ट गर्ने ‘काल’ लाई पनि भगवती कालरात्रिले पराजित गरिदिन्छिन्। कृष्ण वर्ण र भयङ्कर आकृतिमा वर्णन गरिने कालरात्रि देवीलाई शक्ति र भयमुक्तिको प्रतीक मानिन्छ। पुराणका अनुसार कालरात्रिको आराधनाले भक्तलाई भय, रोग र बाधाबाट मुक्ति मिल्ने विश्वास छ।

यसअघि घटस्थापनादेखि शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता र कात्यायनी देवीको क्रमशः पूजा सम्पन्न भइसकेको समितिले जनाएको छ। यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवरात्र दशरात्र बनेको हो।

आजैको दिन दशैँ घर र पूजा कोठामा फूलपाती भित्र्याइने परम्परा छ। अपराह्न भित्र्याइने फूलपातीलाई नवपत्रिका पनि भनिन्छ र यसलाई नौ देवीको प्रतीकका रूपमा पूजा गरिन्छ।

समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार फूलपाती भित्र्याउन साइत आवश्यक नपर्ने भए पनि शुभ समयमा पूजासहित भित्र्याउने वैदिक परम्परा छ।

नवरात्रका अवसरमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रको पाठ गरिन्छ। धार्मिक विश्वासअनुसार यस अवधिमा देवीको आराधनाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ। नौ दिनसम्म गरिएको पूजाको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइने र यसरी नै १५ दिनसम्म बडा दशैँ पर्व मनाइने परम्परा रहेको छ।

Facebook Comments Box