नेपाल विद्युत् प्राधिकरणद्वारा उद्योगीलाई बक्यौता तिर्न २१ दिने अल्टिमेटम
काठमाडौं, १२ असोज – नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन फिडरमार्फत विद्युत् उपभोग गरी १० वर्षदेखि बक्यौता नतिरेका उद्योगीहरूलाई कात्तिक १७ भित्र बक्यौता तिर्न २१ दिने अल्टिमेटम दिएको छ।
आइतबार प्राधिकरणले सूचना जारी गर्दै समयमै तिर्न नसके कारबाही गरिने चेतावनी दिएको हो। यसअघि शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ऊर्जा मन्त्री कुलमान घिसिङको निर्देशनअनुसार बक्यौता उठाउने निर्णय गरेको थियो।
विद्युत् प्राधिकरणका अनुसार ४९ उद्योगीले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता तिरेका छैनन्। प्राधिकरणले ती उद्योगीलाई २८ किस्तामा महसुल तिर्ने सुविधा पनि उपलब्ध गराएको छ।
घिसिङले प्राधिकरणका कार्यकारी निर्देशक हुँदा ८ अर्ब २६ करोड बक्यौताको उठाउने प्रयास तत्कालीन सरकारले रोकिदिएको थियो। नागरिक सरकारमा ऊर्जामन्त्री बनेपछि उनले आफ्नो पुरानो काम अघि बढाएका हुन्।

