तुइन खोला क्षेत्रको पहिरोः पोखरा–काठमाडौँ यातायात समेत प्रभावित
गण्डकी, ८ असोज – मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा गएको पहिरोका कारण पोखरा–काठमाडौँ आवतजावत समेत प्रभावित भएको छ।
पहिरोका कारण उक्त खण्डमा सवारीसाधनको चाप अत्यधिक बढेपछि पोखरा–काठमाडौँ चल्ने बस तथा अन्य सवारीमा ढिलाइ भइरहेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडका अध्यक्ष ऐनकुमार साईले जानकारी दिनुभयो।
लगातार पहिरो गएपछि मुग्लिन–नारायणगढ सडकखण्ड केही समयका लागि बन्द गरी पहिरो पन्छाउने काम भइरहेको छ। “सडक अवरुद्ध हुँदा यात्रुहरूलाई समयमा गन्तव्यमा पु¥याउन निकै कठिनाइ भएको छ।
पश्चिमतर्फ जाने सवारीसाधनहरू पनि पोखरा हुँदै जान थालेका कारण चाप अझ बढेको छ,” साईले भन्नुभयो। हाल पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका करिब ४०० सवारीसाधनले नियमित सेवा दिइरहे पनि यात्रुको चाप अत्यधिक भएको छ।
दसैँ नजिकिँदै गर्दा यात्रुको भीड झन् बढ्ने अनुमान गरिएको छ, जसले आवतजावतमा थप समस्या निम्त्याउने चिन्ता कम्पनीले व्यक्त गरेको छ।

